पर्सा, साउन ९ः प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी धिरप्रताप सिंहका घुमुवा सई त्रिभुवन साह र पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका घुमुवाबीच आर्थिक लेनदेनमा कुरा नमिलेपछि पन्तका घुमुवा मनोज ठाकुरसिहत चार जनालाई बिहीबार डिआईजी कार्यालयमा तानिएको छ ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार पर्सा प्रहरी प्रमुख एसपी गंगा पन्तका घुमुवा कमाण्डर रबिभुषण यादवको टिममा रहेका सई मनोज ठाकुर, प्रहराज किशोर यादव, प्रज अनिल रायभर, प्रज उपेन्द्र सास्तेलीले एक व्यापारीसँग लिएको रकम बाँडफाँडमा कुरा नमिलेपछि डिआईजीका घुमुवा त्रिभुवन साहले डिआइजी सिंहलाई पोल लगाएपछि पन्तका चार जना घुमुवा तानिएका हुन् ।
भरपर्दो शुत्रले दिएको जानकारी अनुसार हरेन्द्र पटेल नामका व्यापारीसँग लिएको २ लाख ५० हजार मध्ये डिआइजीका घुमुवा त्रिभुवन साहले १ लाख माग गरेकोमा पचास हजार मात्र दिएका कारण विवाद भई त्रिभुवनले डिआइजी सिंहलाई पोल लगाएका थिए ।
हरेन्द्र पटेल नाम गरेका व्यापारी रजनीश गन्धा, कपडा र औषधी तस्कर हुन् । पैसा बुझाइसकेपछि सामान ल्याउन नपाएको भन्दै व्यापारी पटेलले बिरोध जनाएपछि घुमुवाबीचको लेनदेनको झगडाले एसपी गंगा पन्तका आर्थिक उठाउने चार जना प्रदेश कार्यालयमा तानिएका हुन् ।
बाहिर देखाउने र चपाउने छुट्टाछुट्टै दाँत भएकी एसपी पन्तले त्यहाँँ रहेका सर्वसाधारण व्यापारीलाई सताउने र तस्करलाई फाकाउने गरेको प्रमाणित भएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै २ नम्बर प्रदेशका सीमाक्षेत्रमा प्रहरीका घुमुवा र तस्करबीच मोलमोलाई सुरु भएको बुझिएको छ ।