ललितपुर, मंसिर २६ : महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापाले प्रहरी शासक नभएर जनताको सेवक भएकोले जनताको समस्यालाई केन्द्र बिन्दुमा राखेर काम गर्न ललितपुर मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

२०३७ सालमा अस्थायी प्रहरी विटको रुपमा स्थापीत २०७२ बाट प्रभागको हैसियतमा स्तरोन्नती भएको कुपण्डोलको नवनिर्मित भवनको उद्घाटन गर्दा डिआइजी थापाले उक्त कुरा बताएका हुन् ।

जिल्ला प्रवेश द्वारको मुखमै रहेको र अति संवेदनशिल एरिया हुँदा हुँदै पनि उक्त प्रभाग टिनको टहरोमा रहेको थियो । ललितपुर वडा नम्बर १० र स्थानीय बासिले प्रहरीलाई बस्ने बास राम्रो नभएसम्म आफ्नो सुरक्षामा पनि चुनौती हुने सोच राखी भवन निर्माण गरिदिएका हुन् ।

वडा नम्बर १० का वडा अध्यक्ष नरसिंह व्यञ्जनकारको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा ललितपुर परिसरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक रविन्द्र धानुकले सहयोगी दातालाई धनयवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा सहयोगी दाताहरुको तर्फबाट लक्ष्मी सुवेदीले आम जनताको सुरक्षा दिने प्रहरी घाम पानीबाट असुरक्षा भएको महसुस गरी भवन निर्माण गरिएको बताए । कार्यक्रममा ललितपुर परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनाल लगायत स्थानीय नागरिकको उपस्थिती रहेको थियो ।


