काठमाडौं, असार ५ : सरकारले सोमबार निधन भएका वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको राजकिय सम्मानका साथ दाहसंस्कार गर्ने निर्णय गरेको छ। सोमबार राती बसेको मन्त्रीपरिषदको बैठकले डा देवकोटालार्इ राजकिय सम्मान गर्ने निर्णय गरेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए।
‘उहाँलार्इ राजकिय सम्मान दिने निर्णय भएको छ,’ मन्त्री तामाङले मन्त्रीपरिषद्को निर्णय सुनाउँदै भने, ‘नेपाली चिकित्सा क्षेत्रमा उहाँले गरेको योगदानको सम्मान गर्दै यस्तो निर्णय गरिएको हो।’
देवकोटाको पार्थिव शरीरलाई बिहान आठ बजेदेखि अन्तिम श्रद्धाञ्जलीका लागि बाँसबारीस्थित न्युरो अस्पतालमा राखिएको छ। उनको शव दिउँसो एक बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि अस्पतालमा राखिने अस्पताल प्रशासनले जनाएको छ। अन्तिम श्रद्धाञ्जलीपछि देवकोटाको शव नारायणगोपाल चोक हुँदै रिङरोडबाट पशुपति आर्यघाट लगिने छ।
सोमबार बेलुकादेखि नै अस्पतालमा आफन्त र शुभचिन्तकको ठुलो भिड लागेको छ। निधन भएको खबर पाएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगायत उच्च पदस्थ व्यक्तिहरुले अस्पताल पुगेर देवकोटाप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए भने आज पनि विभिन्न व्यक्ति श्रद्धाञ्जली दिइरहेका छन्।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम, नेकपामा महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतले पनि अस्पताल पुगी डा देवकोटाको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गरे।
सुरुदेखिनै बेलायतबाट उपचार छोडेर देशको माटोमा देहत्याग गर्ने भन्ने मनसायका साथ नेपाल फर्किएका देवकोटा अन्तिम अवस्थामा रोगले च्याप्दा हेलिकप्टरमै यही जेठ २६ गते गोर्खाको लिगलिगकोट पण्डित गाउँस्थित जन्म घर पुगेका थिए। उनले त्यहाँ सिसने धाराको पानी समेत पिएका थिए।
मातृभूमि र जन्म गाउँप्रति असाध्यै श्रद्धा प्रदर्शन गरेका देवकोटाकै इच्छा अनुसार काजकिरिया पनि छोटो गर्न लागिएको छ।
आर्यघाटमा देवकोटाको शवलाई बिद्युतिय शवदाह गृहमा आजै अन्त्येष्टि गरिने छ। देवकोटाको काजक्रिया जम्मा सात दिनको हुने छ। उनको काजक्रिया श्रीमती मधु, छोरीहरु मेघा, मञ्जरी र बसुद्याले गर्ने छन्।
पित्तनलीको क्यान्सरबाट ग्रसित डा देवकोटाको बाँसबारीस्थित आफ्नै अस्पतालमा उपचारका क्रममा सोमबार साँझ ५ बजेर ३५ मिनेट जाँदा निधन भएको थियो।
वि.सं २०१० साल पुस ४ गते जन्मेका डा देवकोटाले आफ्नो करिअरको ३४ वर्षको अवधिमा २५ हजार भन्दा बढीको शल्यक्रिया र १० लाख भन्दा बढी बिरामी जाँचेका डा देवकोटा क्यान्सरसँग पराजित भएका हुन्।
डा देवकोटालाई पित्तवाहिनी नलीको क्यान्सर मेडिकल भाषामा बाइल डक्ट क्यान्सर (कोलान्जिओकार्सिनोमा) भएको थियो।