डा केसीलार्इ कसैले भेट्‍न नपाउने, सरकार केसीप्रति कठोर

| 2018 Jul 16 | 07:40 am 2036

काठमाडौं, असार ३२: मेडिकल शिक्षामा सुधारको माग राखेर जुम्लामा अनशनरत डा. गोविन्द केसीसँग बाहिरी भेटघाट प्रतिबन्ध लगाइएको छ ।अनशनका कारण स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमणको खतरा औंल्याउँदै चिकित्सकले बाहिरी भेटघाट प्रतिबन्ध गरेका हुन्।

डा. केसीको स्वास्थ्य अवस्था बुझ्न दैनिक डेढ सय बढी शुभचिन्तक आउने गरेका छन् । चिकित्सक नारायण कँडेलले बाहिरबाट डा. केसीलाई भेट्न आउनेलाई रोकेको बताए । ‘अहिले हामीले कसैलाई भेट्न दिएका छैनौं । डा. केसीले पनि चिकित्सकसँग पनि बोल्न सक्नुहुन्न ।’

कँडेलले डा. केसीको स्वास्थ्य अवस्था निकै बिग्रिएको भन्दै जति बेला पनि अकल्पनीय घटना हुन सक्ने भएकाले अत्यावश्यक सामग्री पूर्वतयारीमा राखेर उपचार गरिरहेकोसमेत बताए ।

डा. केसीले सरकारले काठमाडौंबाट पठाएको चिकित्सकको टोलीबाट उपचार लिन अस्वीकार गरेका छन् ।अनशनको १६औं दिन पुग्दा समेत केसी भने आफ्ना अडानबाट पछि हटेका छैनन् । सरकार केसी अनशन छाडेर आउनुपर्ने र विधेयकमा व्यवस्था भएको आयोगमार्फत उनका माग सम्बोधन गर्नेमा लाग्नुपर्ने अडानमा छ भने डा. केसी सरकारले आफ्ना माग पूरा नभएसम्म मृत्युवरण गर्न तयार रहेको तर अनशन नछाड्ने अडानमा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले केसीको जीवन रक्षाका लागि आफूले मेडिकल टोली पठाउने तथा केसीलाई काठमाडौं ल्याएर उपचार गराउने वातावरण बनाइदिन अपिल गरे पनि चिकित्सक संघबाट असहयोग भएको बताए ।सरकारले वार्ताका लागि टोली गठन गर्ने कार्य अघि बढाएको छैन । सरकारले केसीसँग वार्ता भन्दा पनि पहिले उनको स्वास्थ्य रक्षाका लागि काठमाडौं ल्याएर उपचार गर्नुपर्ने जनाउँदै आएको छ । मन्त्री पोखरेलले केसीलाई काठमाडौंमा ल्याएर उपचार गर्नुपर्ने बताए ।

केसीले भने सरकारले माग पूरा नगर्दासम्म अनशन नछाड्ने अडान राखेका छन् । उनले सरकारले वार्ता टोली गठन नगरेर सरकारले मार्न चाहेको भन्दै आफ्नो स्वास्थ्य चेकजाँच गर्न समेत अस्वीकार गर्न थालेको खबर राजधानी दैनिकमा छ।

डा. केसीले उठाएका माग पूरा हुनुपर्ने माग राख्दै राजधानीमा धर्ना समेत हुँदै आएको छ । उनीहरूले चिकित्सा शिक्षासम्बन्धी माथेमा आयोगको प्रतिवेदनअनुसारको चिकित्सा शिक्षा विधेयक ल्याएर केसीको जीवन रक्षा गर्न माग गरेका छन्।

राष्ट्रिय चिकित्सा अध्यादेशलाई विस्थापन गर्न ल्याएको विधेयकमा सरकारले अध्यादेशमा भएको केही विषय परिवर्तन गरेपछि अध्यादेशमै भएको विधेयक आउनुपर्ने माग राखेर केसी अनशनमा बसेका हुन् ।

अनशनका कारण पछिल्लोपटक केसीको मुटु अस्थिर बन्न थालेको छ भने श्वासप्रश्वासमा समेत समस्या आउन थालेको चिकित्सकले जनाएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले अनौपचारिक रूपमा केसीको जीवन रक्षा र मागको विषयमा वार्ता गरेपछि ठोस उपलब्धि हुन नसकेको बताए। ‘जोखिम नमोल्नुस्, जीवन रक्षा गरेर अघि बढौं भनेर मैले पहल गरेको छु तर खास उपलब्धि भएको छैन,’ नेता श्रेष्ठले राजधानीसँग भने, ‘उहाँले अनशन त्यागेर विधेयकमा व्यवस्था भएको आयोगलाई शक्तिशाली बनाएर जाँदा उपयुक्त हुने देखिन्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.