जुम्ला, साउन ३: चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको मुटुमा गम्भीर समस्या देखिएको छ ।
मंगलबार राति साढे १२ बजे र बिहान ४ बजे दुई पटक उनको ९ वटासम्म एक्टोपिक बिट्स (मुटुको धड्कनमा गड्बढी) देखिएको उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।
यस्तै परिस्थिति रहे डा. केसीलाई जुनसुकै बेला सीसीयूमा राखेर उपचार गर्नुपर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा. पुजन रोकायाले बताए। ‘यो सुविधा अस्पतालमा छैन,’ उनले भने, ‘सरकारले तत्काल वैकल्पिक व्यवस्थाका लागि यसतर्फ ध्यान दिन जरुरी छ।’ दुवै हातका नसामा पनि संक्रमण देखिएको छ। निरन्तर घटिरहेको सेतो रक्तकोशिका र संक्रमणका कारण जोखिम बढेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्।
चिकित्सकका अनुसार रगतमा पोटासियम, म्याग्नेजियम र क्याल्सियम निकै कम भइसकेको छ तर डा. केसीले औषधि लिन मानेका छैनन्।
श्वासप्रश्वासमा अझ कठिनाइ देखिएको र चौबीसै घण्टा अक्सिजन दिइरहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार छाती दुख्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिनेलगायत समस्या डा. केसीमा देखिएको छ।