डा केसीको जीवनरक्षाको माग

रिपोर्ट नेपाल | 2018 Jul 17 | 05:46 pm 2298

काठमाडौँ, साउन १ :  प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका नेता सञ्जय गौतमले अनशनरत डा गोविन्द केसीको जीवनरक्षाका लागि सरकारलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा गौतमले स्वास्थ्य र शिक्षाजस्तो महत्वपूर्ण क्षेत्रको सुधारका लागि सत्याग्रह गरेका केसीलाई कुनै दलसँग जोड्न नहुने बताए । उनले माथेमा प्रतिवेदनका आधारमा संसद्मा दर्ता गरिएको चिकित्सा शिक्षा विधेयकबारे आफ्नो पार्टीको प्रष्ट दृष्टिकोण रहेकाले उक्त प्रतिवेदन तयार पार्ने विज्ञको सुझावलाई कांग्रेसले सम्मान गर्ने बताए ।

पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले डा केसीका माग र चिकित्सा शिक्षा विधेयकलाई संसद्मा छलफलको क्रममा लैजानुपर्ने बताए । उनले शुरुमा डा केसीको ज्यान बचाउनुपर्नेमा जोड दिए । कांग्रेसले संसद् अवरोध गरेर गल्ती गरेको उनको भनाइ थियो । केसीका केही माग सच्चाउन आवश्यक रहेको उनको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टीका नेता अनिल झाले अनशनरत डा केसीको जीवनरक्षाको माग गर्दै सरकारले सत्याग्रहलाई सम्मान गर्नुपर्ने बताए । केसीले उठाएका जायज माग पूरा हुनुपर्ने र केही मागबारे केसीलेसमेत विचार गर्नुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.