ठूला चाडमा मात्र १ अर्ब ८० करोडको फलफूल आयात

रिपोर्ट नेपाल | 2019 Oct 22 | 09:16 am 1945

काठमाडौं, कात्तिक ५: दसैं र तिहारका लागि मात्रै १ अर्ब ८० करोडको फलफूल आयात भएको छ । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार दसैं तिहारमा मात्रै चीन र भारतबाट दैनिक ९ करोडको फलफूल आयात हुने गर्छ । उनका अनुसार दसैं तिहारमा फलफूलको खपत तीन गुणाले वृद्धि हुने हुँदा आयात पनि तीन गुणाले वृद्धि हुने गरेको छ ।

अध्यक्ष घिमिरेका भनाई अनुसार अन्य दैनिक ३ करोड मूल्यबराबरको करिब ४ देखि ५ टन फलफूल आयात हुन्छ भने दसैं तिहारमा दैनिक ९ करोड मूल्यबराबरको १३ सय टन फलफूल आयात हुन्छ । सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आयात हुने बताए ।

महासंघका अनुसार स्वदेशी उत्पादनले ३० प्रतिशत मात्र धान्ने र बाँकी ७० प्रतिशत फलफूल आयात गर्नुपर्ने अवस्था छ । महासंघका अध्यक्ष घिमिरे भन्छन्, स्वदेशमा फलफूलको उत्पादन कम भएकै कारण बर्सेनि १० प्रतिशत आयात बढ्ने गरेको छ ।

सरकारले स्वदेशी उत्पादन बढाउन विभिन्न जोन सुपर जोन पकेट क्षेत्र बनाएको छ । आयात भने कम गर्न सकेको छैन । सरकारले फलफूल उत्पादन वृद्धि गर्नकै लागि पछिल्लो समय गोर्खा, धरान, भोजपुर, तेह्रथुम, बुटोल, गुल्मी पालपाललगायतका विभिन्न जिल्लामा स्याउ सुन्तला जोनपकेट क्षेत्र छुट्याएको छ । अपेक्षा गरेअनुसारको उत्पादन भने हुन सकेको छैन ।

स्वदेशमा उत्पादन कम भएकै करण फलफूलका लागि मात्रै वर्षमा करिब २० अर्बभन्दा बढी रकम बाहिरी रहेको छ । सरकारले आयात प्रतिस्थापन गर्न फलफूलमा ठूलो लगानी गरेको भए पनि उत्पादन भने बढाउन सकेको छैन ।

अध्यक्ष घिमिरेका अनुसार ३० प्रतिशत केरा स्वदेशी उत्पादन र ७० प्रतिशत भारतबाट आयात हुन्छ । यसैगरी, स्याउ स्वदेशी उत्पादन १० प्रतिशत ९० प्रतिशत आयात हुन्छ । स्याउ ९० प्रतिशत आयातमा ७० प्रतिशत चीनको र २० प्रतिशत भारतबाट आयात हुने गरेको घिमिरेको भनाइ छ ।

यसैगरी मौसम १५ प्रतिशत स्वदेशी ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ । सुन्तला भने ५० प्रतिशत स्वदेशी र ५० प्रतिशत आयात भारतबाट हुने गर्छ ।

राष्ट्रिय फलफूल विकास केन्द्रका बागवानी विकास अधिकृत धनबहादुर थापाले स्वदेशी उत्पादन गर्ने कार्यशैली नमिलेकै कारण फलफूल उत्पादन वृद्धिका लागि सरकारले गरेको लगानीले प्रतिफल पाउन सकेको छैन । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.