ठूला कम्पनीलाई उन्मुक्ति दिने अभ्यासप्रति आपत्ति

| 2020 Nov 13 | 08:16 am 1662

काठमाडौं, कात्तिक २८ः मिति नाघेका वस्तु खुवाएर नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने विशाल ग्रुपलाई सरकारले उन्मुक्ति दिएको छ । गैरकानुनीरुपमा काम गर्न लगाउने विशाल ग्रुपले दण्डहीनताको आनन्द उठाएको छ । उपभोक्ता र अधिकारकर्मीहरुले भने विशाल ग्रुपलाई नागरिकस्तरबाटै सजाय दिनुपर्ने धारणा राखेका छन् ।

म्याद सकिएको खाद्य वस्तुमा पुनः नयाँ मिति राखेर बिक्री गरिरहेको अवस्थामा वितरक कम्पनीका केही व्यक्तिलाई रंगेहात पक्राउ गरे पनि मुख्य दोषी विशाल ग्रुपलाई भने छुटकारा दिइएको छ । मिति नाघेका खाद्यान्नमा नयाँ मिति राखेर बजार पठाउँदै गर्दा विशाल ग्रुपका दुई वितरक कम्पनीमाथि कारबाही भए पनि मुख्य दोषी विशाल ग्रुपलाई कारबाहीबाट बचाइएको छ ।

महानगरीय अपराध महाशाखाले प्रमाण संकलन गरेपछि प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं र वाणिज्य विभागको संयुक्त टोलीले छापा मार्दा मिति सकिएको अखाद्य वस्तु भेटिएको थियो । लगत्तै विभागले विशाल ग्रुपकै वितरक संस्थाका सञ्चालकहरु पक्राउ गरी सार्वजनिक गरेको थियो । प्रहरीले संकलन गरेको प्रमाणका आधारमा विभागको नेतृत्वमा गत असोज १५ गते विशाल ग्रुपका वितरक कम्पनीमा छापा मारेको थियो ।

अनुगमनका क्रममा चार तले घरमा रि–लेबल गरिएको खाद्य सामग्री भेटिएपछि विशाल ग्रुपअन्तर्गतका आयान डिस्ट्रिब्युटर्सका सञ्चालकसहित सात जना पक्राउ परेका थिए ।

बजारमा दैनिकरुपमा उपभोग हुने स्निकर चकलेट, प्रिङ्गल्स आलु चिप्स, बोर्नभिटा हर्लिक्स, टेङ्ग पाउडर जुस र ओरियो बिस्कुट गरी ९८ करोडभन्दा बढी मूल्यको सामान रि–लेबलिङ गरिएको र गरिन लागेको अवस्थामा भेटिएको विभागले रंगेहात फेला पारेको थियो । छापा मारेर स्याबासी कमाएको विभागले मुख्य दोषी विशाल ग्रुपलाई भने कारबाही गर्न सकेन । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.