ट्र्याक्टरमाथि ‘घर’ नै बोकेर जर्मनीका ७० वर्षीय वृद्ध विश्वकप हेर्न रसिया जाँदै

रिपोर्ट नेपाल | 2018 Jun 08 | 03:42 pm 5652

एजेन्सी, २५ जेठ : ‘१० दिनमा त पुग्छु ।’ पोल्याण्ड र बेलारुसको बोर्डरमा भेटिएका एक वृद्धले भने । उमेरले ७० वर्ष पुगेका उनी पूर्वतिर लागिरहेका थिए ।

बेलारुसमा चालकहरूले भेटेका जर्मनीका यी वृद्ध विश्वकप हेर्नका लागि रसिया जाँदै थिए । सन् १९२० दशकको लान्ज बुलडग ट्र्याक्टरको गति प्रतिघण्टा ३० किलोमिटरको थियो । विश्वकप आउन अब सात दिनको समय बाँकी छ । जुन १४ मा उद्घाटन खेलमा रसिया र साउदी अरेबिया आमने सामुन्ने हुँदै छन् ।

राम्रो अवस्थामा रहेको ट्र्याक्टरमाथि सानो ‘घर’ नै थियो । जर्मनीका यी फुटबल प्रेमीको साथमा एउटा कुकुर पनि थियो । ‘उनको सवारी साधनलाई हेरेर एकैपटक खुसी, आश्चर्य, दयाको अनुभव गरेँ । राजमार्गमा उनको साधन निकै सुस्त चलिरहेको थियो ।’ प्रत्यक्षदर्शी क्षेनियाले भनिन् ।

काठले बनाइएको उनको ‘घर’ बियर बोक्ने भ्यान जस्तो देखिन्थ्यो । पोल्याण्ड र बेलारुसको सिमाना पार गर्दै गरेको अवस्थामा भिडियो समेत लिन भ्याएका मोटर चालक सेर्गेईले भने ।

‘हाल्लो मस्काउ’ । उनको चलायमान घरको अघिल्लो भागमा फुटबलको चित्रसँगै जर्मन भाषामा हेल्लो मस्को लेखिएको स्टिकर टाँसिएको थियो । र त्यसभन्दा अघिल्तिर एउटा साइकल थियो । र घरको छतमा एउटा सोलार प्यानल पनि थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.