काठमाडौं, साउन ३ । ट्राफिक प्रहरीले आजबाट साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले सुन्धारा स्थित काठमाडौं मल अगाडी रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री वितरण गरेर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।
गाडी पुर्ण रुपमा नरोकिदै र बस बिसौनीमा नगई जथाभावी सवारी चढ्ने र ओर्लने, सवारी साधनको झ्याल ढोकाबाट हात तथा टाउको बाहिर निकाल्ने जस्ता कार्यले पनि सवारी दुर्घटना हुँदै आएकाे नायव महानिरीक्षक पाेखरेलले बताए ।
सुरक्षित सडक यात्राका लागि चालक र परिचालकलाई चेतनामूलक कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरीले यात्रुको पनि महत्वपुर्ण जिम्मेवारी रहने भएकाले याे कार्यक्रमको सुरुवात गरेको हो ।
मादक तथा र लागु पदार्थ सेवन गरेर सवारी साधन चलाएको शंका लागेमा, सवारी साधनमा बढी भाडा लिएमा वा दुर्व्यवहार गरेमा प्रहरीको हटलाइन नम्बर १०० र १०३ मा सम्पर्क गर्न पनि पाेखरेलले यात्रुसँग आग्रह गरेका थिए ।
कार्यक्रममा बस बिसौनीबाट मात्र गाडी चढौं, सवारी साधनमा हुने पकेटमारीबाट बचौं, सवारी साधनमा हुने दुर्व्यवहार र अन्य आपराधिक कृयाकलापबाट बचौं लगायत यात्रुले पैदल हिंड्दा र बाटो काट्दा पालना गर्नु पर्ने आधारभुत जानकारी सहितको पर्चा पम्प्लेट यात्रुलाई वितरण पनि गरिएको थियाे ।