ट्राफिकको सक्रियतापछि चोरीका मोटरसाईकल धमाधम फेला पर्दै

| 2021 Mar 04 | 04:26 pm 1469

काठमाडौ फाल्गुन २०: महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समयमा एक पछि अर्को सफलता हात पारेको छ ।महाशाखाको कमाण्ड गर्न आएका एसएसपी जनक भट्टराईले चोरीका सवारी साधन नियन्त्रणमा लिन सादा पोसाकमा खटिने ट्राफिक प्रहरी टोलीलाई विशेष सक्रियताका साथ परिचालन गरेसँगै चोरी भएका २७ वटा मोटरसाइकल दुई हप्तामै खोजतलास गरि बरामद गर्न मशाखा सफल भएकोछ । उपत्यका र आसपासका विभिन्न स्थानबाट चोरी भएका मोटरसाइकलहरू बरामद गरी महाशाखाले आज एक कार्यक्रमका वीच सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएको हो ।

महाशाखाले सुराकी तथा बिशेष सुचना संकलन मार्फत टोली परिचालन गरि ती मोटरसाईकल वरामद गरेको हो । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको जोरपाटी, जगाती, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, बुढानिलकण्ठ, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका नुवाकोट, धादिङ र मकवानपुर जिल्लाका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार उपत्यका आसपासको ईलाकामा बिशेष सूचना संकलन गरि अप्रेशनमा गई मोटरसाइकलहरु बरामद गरेपछि , चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउन गरेको जनाएका छन् । अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको पनि उपरीक्षक अधिकारीले बताए।

महाशाखाले ट्राफिक व्यवस्थापनसँगै मोटरसाइकल चोरी नियन्त्रण तर्फ पनि सक्रिय भई टोली परिचालन गरिरहेको छ । चोरीमा संलग्न मानिस र मोटरसाईकल नियन्त्रणको संख्यामा उल्लेख्य बृद्धि भएसँगै चोरी नियन्त्रणमा कमी ल्याउन महाशाखा सफल भएको बताईएको छ । महाशाखाले आज मात्रै करिव ८० लाख बढि मुल्य बराबरको बिभिन्न कम्पनीका मोटरसाईकलहरु सम्बन्धित धनिलाई बुझाएको छ भने यस बर्षमा करिब १६ करोड बढि मुल्य पर्ने मोटरसाईकलहरु नियन्त्रणमा लिएको जनाएको छ ।

लामो समयसम्म पार्किङ्ग, एकान्त र अध्याँरो स्थानमा पार्किङ्ग गर्दा र अतिरिक्त लक तथा साईरनको प्रयोग नगर्दा चोरी हुने सम्भावना अत्याधिक हुने हुनाले सम्बन्धित मोटरसाईकल धनी एव चालक स्वयंम होसियार रहनु पर्ने महाशाखाको कथन छ । सम्बन्धित सवारी धनी एवम् चालक नै चोरी नियन्त्रणको एक प्रमुख कारक भएको हुनाले पार्किङ्ग गर्दा बिशेष ध्यान दिनुपर्ने र अतिरिक्त सुरक्षाका उपायहरु प्रयोग गर्नुपर्ने
महाशाखाको सुझाव छ ।

यस आर्थिक वर्षमा मात्रै हराएका २सय ७९ वटा मोटरसाइकल सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४१ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ । चोरी भएको थाहा पाउनसाथ ट्राफिक प्रहरीको हटलाईन १०३ वा अनलाईन सेवा Lost Vehicle Application मा लगईन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानकारी गराउन महाशाखाले अनुरोध गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.