सिंगापुर, जेठ २९ : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-उनबीच सिंगापुरमा अभूतपूर्व वार्ता सम्पन्न भएकाे छ। वार्तापछि उनीहरूले एक संयुक्त सहमतिपत्रमा संयुक्त रूपमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिलार्इ एेतिहासिक मानिएकाे छ।
राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल भएको उपलब्धीबाट आफूले निकै गर्वको अनुभव गरेको बताएका छन्। उनले विगतको दाँजोमा अब संयुक्त राज्य अमेरिका र कोरियाली प्रायद्विपबीचको सम्बन्ध नितान्त भिन्न हुने पनि बताएका छन्। शिखर वार्तामा किम र ट्रम्पबीच चार बुँदे सम्झौता भएको छ ।
सम्झौतापत्रमा उल्लेखित चार बुँदा
– संयुक्त राज्य अमेरिका र उत्तर कोरियाद्धारा दुवै राष्ट्रका नागरिकहरुको शान्ति र समुद्धिको आकांक्षा अनुरुप दुवै देशबीच नयाँ सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता व्यक्त
– संयुक्त राज्य अमेरिका र उत्तर कोरियाले कोरियाली प्रायद्धीपलाई दीर्घकालीन र स्थीर शान्ति क्षेत्र बनाउन हातेमालो गर्ने
– गएको अप्रिल २७ मा पान्मुनजोन घोषणपत्रलाई सार्वजनिक रुपमा दोहोर्याउँदै उत्तर कोरिया कोरियाली प्रायद्धीपलाइ पूर्णरुपमा आणविक हतियारमुक्त बनाउने
-संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच कैदीबन्दी र युद्धका क्रममा बेपत्ताहरुको अवशेष पुन प्राप्त गर्ने र पहिले नै सनाखत भइसकेकालाई तत्काल सुपुर्दगी गर्नको लागि दुवै देशको प्रतिवद्धता