ट्याक्सी व्यवसायीको आन्दोलनपछि टुटल–पठाओविरुद्ध सरकारको चेतावनी

रिपोर्ट नेपाल | 2020 Mar 11 | 02:22 pm 1683

काठमाडौं, फागुन २८: ट्याक्सी व्यवसायीको आन्दोलनपछि सरकारले टुटल र पठाओविरुद्ध एक सूचना जारी गरेको छ ।

यातायात व्यवस्था विभागले मंगलवार राति एक सूचना जारी गर्दै निजी प्रयोजनका लागि लिइएको सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको हो । साथै सूचनामा कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जनाएको छ ।

मोबाइल एपमा आधारित टुटल–पठाओ बन्द गराउन माग गर्दै मंगलवार ट्याक्सी व्यवसायीले मीनभवनस्थित यातायात व्यवस्था विभागमा घेराउ गरेका थिए। उनीहरुले निजी प्रयोजनका लागि निकालिएका मोटरसाइकलमा यात्रु बोक्न नपाइने भन्दै प्रदर्शन गरेका थिए ।

टुटल–पठाओले दुरीका आधारमा पूर्वनिर्धारित भाडामा मोटरसाइकलबाट यात्रु बोक्न थालेपछि तुलनात्मक रुपमा ट्याक्सी भन्दा सस्तो पर्न गएपछि सर्वसाधारणले टुटल पठाओ सेवालाई मन पराएका छन् । जसको कारण ट्याक्सी व्यवसायीलाई समस्या भएको छ। सरकारले पटक पटक नियमन गरेपनि उपत्यकामा ट्याक्सीको ठगी भने उस्तै रहेको छ सुधार हुन सकेको छैन।

ट्याक्सी व्यवसायीहरु प्रचलित भाडामा सेवा दिएर सुधार ल्याउने पक्षमा देखिँदैनन् बरु उल्टै आन्दोलन र दवाव दिएर पठाओ टुटललाई हटाउन उद्दत देखिएका छन् । त्यसैको दबाव स्वरुप मंगलवार यातायात व्यवस्था विभागले सूचना जारी गरेको छ ।

यसअघि तत्कालीन यातायातमन्त्री रघुवीर महासेठको पालामा टुटल–पठाओ बन्द गर्न खोजिएपछि सर्वसाधारणले विरोध जनाएका थिए । फलस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले नियमन गर्ने तर तत्काललाई बन्द नगराउन निर्देशन दिएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.