बैतडी, पुस २०ः ट्याक्टर दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा झाङको बित्थडचिर गाउँपालिका ४ का ४० वर्षीय जित बहादुर बोहरा रहेका छन् । उनकाे घटनास्थलमै मृत्यु भएको हो ।
डडेल्धुराबाट बझाङतर्फ गइरहेको बिनानम्बरको अनटेस्ट ट्याक्टर साेमबार बिहान २ बजे खोड्पे-बझाङ सडकखण्डमा पर्ने बैतडीको सिगास गाउँपलिका- ९ बाजपानीमा दुर्घटना भएकाे प्रहरीले जानकारी दिएकाे हाे ।
उक्त दुर्घटनामा परी घाइते हुनेमा चालक बझाङको बित्थडचिर गाउँपालिका ५ का ३२ वर्षीय नरेन्द्र महरा, ट्याक्टरमा सवार बित्थडचिर ४ का २० वर्षीय कृष्ण बोहरा रहेकाे खोडपे प्रहरी चौकीले जनाएको छ ।
घाइते चालक नरेन्द्र महराका दुवै खुट्टा भाँचिएका छन् भने कृष्ण बोहराको खुट्टामा चोट लागेको हो । ट्याक्टर सडकबाट १ सय ७८ मिटर तल खसेको खोड्पे प्रहरी चौकीका ट्राफिक प्रहरी चन्द्रदेव भट्टले जानकारी दिए।