टेलिग्रामका मालिकलाई संगठित अपराधमा अनुसन्धान

| 2024 Aug 29 | 04:40 pm 277

काठमाडौँ १३ भदौ / रुसमा जन्मिएका अर्बपति सामाजिक सञ्जाल टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी पाभेल डुरोभलाई फ्रान्समा संगठित अपराधको अनुसन्धानमा अभियोग चलाइएको छ । सामाजिक सञ्जाल टेलिग्रामलाई आपराधिक समूहहरूले गरिरहेको प्रयोग रोक्न कदम चाल्न असफल भएको आरोपमा उनलाई पक्राउ गरिएको थियो

डुरोभलाई गत शनिबार फ्रान्समा पक्राउ गरिएको थियो । अर्बपति डुरोभ ५६ लाख अमेरिकी डलर जमानत बुझाएर रिहा भएका छन् । तर उनले फ्रान्स छाड्न भने पाउने छैनन् । उनी सातामा दुईपटक प्रहरी चौकीमा हाजिर हुनुपर्ने बताइएको छ ।

डुरोभलाई टेलिग्राम एपमा अतिवादी र गैरकानुनी सामग्री नरोकेको, बाल दुर्व्यवहारसम्बन्धी तस्बिरहरूको वितरण गरेको, संगठित गिरोहको अवैध लेनदेन रोक्न नसकेको, अधिकारीहरूसँग संवाद अस्वीकार गरेको लगायतका आरोप लगाइएको छ । डुरोफका वकिलले उनीमाथि निरर्थक आरोप लगाइएको बताएका छन् । उनका अनुसार टेलिग्रामले युरोपेली डिजिटल नियमहरूको पालना गरिरहेको छ ।

टेलिग्राम एप फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याटपछि प्रमुख सामाजिक सञ्जाल हो । डुरोभले २०१३ मा टेलिग्रामको स्थापना गरेका थिए । डुरोभले सामाजिक सञ्जाल ‘भिकोन्टाक्टे’मा विपक्षी समुदायहरूलाई बन्द गर्ने सरकारी उर्दी अस्वीकार गर्दै २०१४ मा रुस छाडेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.