टावरको सेवा नियमित नहुँदा मोवाइलमा पनि लोडसेडिङ !

रिपोर्ट नेपाल | 2018 May 25 | 04:03 am 2634

डोल्पा : डोल्पाली जनताले मोवाइल फोन सेवामा पनि लोडसेडिङको मार खेप्दै आएका छन्। ठूलीभेरी नगरपालिकाअन्तर्गत जुफालमा रहेको मोवाइल टावरको सेवा नियमित नहुँदा डोल्पाली जनताले मोवाइल सेवामा पनि लोडसेडिङको मार खेप्नु परेको हो। जुफालमा रहेको मोवाइल टावर संचालनका लागि राखिएको सोलार ब्याट्रीले काम नगरेपछि बत्ती पालो परेको दिनमा मात्रै टावर दिने र बत्ती पालो नपरेको दिनमा दश घण्टासम्म नमस्ते र स्काई मोवाइल सेवा बन्द हुने गरेको छ।

फोनमा ढुक्कसँग कुरा गर्न पनि बत्ती आउने दिन नै कुर्नुपर्ने भएकाले सर्वसाधारणहरू लामो समयदेखि मर्कामा परेका हुन्। सदरमुकाम दुनैमा रहेको जैरीगाड जलविद्युत् आयोजनाबाट नियमित बत्ती आपूर्ति नहु“दा नियमित टावर संचालनमा समयस्या देखिएको नेपाल दूरसञ्‍चार कार्यालय डोल्पा शाखाले जानकारी दिएको छ।

‘मोवाइल टावर राखिएको स्थान जुफालको बत्ती पालो परेको दिनमा मोवाइलमा टावर हुन्छ, पालो नपरेको दिन भने राति नौ बजे देखिनै काटिएको टावर भोली बिहान सातबजे पछि मात्र आउछ’ त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीयवासी नैनानन्द देवकोटाले भने। ‘विकट जिल्लामा फोन सम्पर्कको एकमात्र माध्यम मोवाइल टावरमा समेत समस्या हु“दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ’, उनले गुनसो गरे, ‘राति बिरामी पर्दा डाक्टर बोलाउनु परेमा वा तत्काल कसैस“ग सम्पर्क गर्न खोज्दा मोवाइलमा टावर नै हुँदैन।’

मोवाइलमा टावर नभएको अवस्थामा कुनै महत्वपुर्ण काम परेमा पुरानो जमानामा जस्तै रैबारे मान्छे पठाउनु वा आफै कुद्नु पर्ने उनले बताए। जुफालमा रहेको टावरलाई नियमित संचालन गर्नका लागि सोलार थप्न माग गर्दै पटक–पटक नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जमा पत्राचार गरे पनि सुनुवाइ नभएको दूरसंचार कार्यालय डोल्पा शाखाका प्रमुख दयाविक्रम केसीले बताए।

नेपाल टेलिकम क्षेत्रीय दूरसंचार कार्यालय नेपालगञ्जका प्रमुख प्रकाश प्रधानका अनुसार डोल्पाली जनतालाई टेलिफोन सेवामा असुविधा भएको हो भने जुफालमा सोलार थप्नको लागि तत्काल काम कारवाही अगाडि बडाउने बताए। ठूलीभेरी नगरपालिको कार्यालय जुफालले लेन्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवाको माग गरेकाले उक्त सेवा संचालनसँगै जुफालको टावरमा पनि सोलार थप्ने क्षेत्रीय प्रमुख प्रधानको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.