झापामा १९ वटा खोप केन्द्रको भवन बन्दै

रिपोर्ट नेपाल | 2018 Jun 04 | 08:06 am 4384

झापा, जेठ २१: झापामा १९ वटा खोप केन्द्रको भवन निर्माण हुने भएको छ ।

जिल्लाका १५ स्थानीय तहमा खोप केन्द्रको भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयले बजेट उपलब्ध गराएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत ईश्वरी पौडेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रालयले १९ वटा खोप केन्द्रको भवन निर्माणका लागि रु तीन लाखका दरले रु ५७ लाख उपलब्ध गराएको छ । गाउँपालिका र नगरपालिकाले जग्गाको व्यवस्थापन आफैँ गर्नुपर्ने व्यवस्था छ”, अधिकृत पौडेलले भने, “खोप केन्द्र बनाउन रु तीन लाखमा सिड मनी दिइएको छ ।” कतिपय स्थानीय तहमा खोप केन्द्र निर्माण भइसकेको छ भने कतिपय स्थानीय तहमा निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

यो वर्ष अर्जुनधारा नगरपालिकामा सबैभन्दा धेरै तीन वटा खोप केन्द्रको भवन बन्ने छ भने अन्य गाउँ-नगरपालिकामा एक-दुई वटाको दरले निर्माण हुने कार्यालयले जनाएको छ ।

झापामा गत वर्षदेखि मात्र खोप केन्द्रको भवन निर्माण हुन लागेको हो । गत वर्ष स्वास्थ्य मन्त्रालयले रु दुई लाख १० हजारका दरले १५ वटा खोप केन्द्रको भवन निर्माणका लागि रकम उपलब्ध गराएको थियो । १५ वटै खोप केन्द्रको निर्माण सम्पन्न भएर हस्तान्तरणसमेत गरिएको अधिकृत पौडेलले बताए ।

उपलब्ध रकममा स्थानीय तहले केही रकम थपेर खोप केन्द्र निर्माण गर्नुपर्ने छ । यसअघि बालबालिकालाई विद्यालय, स्वास्थ्य चौकीलगायतका स्थानमा खोप दिने गरिएको थियो । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.