ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने ७५ पुगे

रिपोर्ट नेपाल | 2018 Jun 06 | 04:59 pm 3120

आलोटेनाङ्गो, ग्वाटेमाला, २३ जेठ : ग्वाटेमालमा भएको भीषण ज्वालामुखी विस्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या बुधबार बिहानसम्म ७५ पुगेको समाचार छ । यस प्रकोपको कारण अझै पनि करिब २०० व्यक्ति वेपत्ता रहेका उद्धारमा खटिरहेका अधिकारीले जानकारी दिएका छन् ।

राजधानी शहरनजिकैको एक स्थानमा भएको यो ज्वालामूखी विस्फोट एक शताब्दियता कै शक्तिशाली भएको पुष्टि गरिएको छ । उक्त स्थानमा यस वर्षमात्र दुई पटकसम्म ज्वालामुखी विस्फोट भएको अधिकारीले जनाएका छन् ।  मङ्गलबार र बुधबार बिहान केही थप शव फेला परेपछि सो सङ्ख्या ७५ पुगेको र अझै ठूलो सङ्ख्याका नागरिक हराइरहेका मध्यअमेरिकी देश ग्वाटेमालाको विपद्सम्बन्धी निकायले जानकारी दिएको छ ।

ग्वाटेमाला सिटीभन्दा ३५ किलोमिटर पर रहेको उक्त क्षेत्रमा तीव्र वेगमा तातो खरानी र लाभाबाट जोगाउन हजारौको सङ्ख्याका व्यक्तिलाई उद्धार गरिएको जनाइएको छ ।  उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याइएका कैयौँ व्यक्तिले आफ्ना आफन्त हराइरहेको गुनासो गरेका छन् । विस्फोटमा करिब १०० भन्दाबढी घाइते भएका र उनीहरुको उपचार जारी रहेको छ ।

आइतबार राति भएको यस प्रकोपमा परी कम्तीमा पनि १७ लाख व्यक्ति प्रभावित भएका बताइएको छ । तीमध्ये करिब चार हजारलाई शरणार्थी शिविरमा सारिएको बताइएको छ । सेना र प्रहरीले उद्धारको काम जारी रहेको छ, उनीहरुको सहयोगमा ठूलो सङ्ख्याका स्थानीयलाई पनि अन्यत्रै सारिएको जनाइएको छ ।

ज्वालामुखीबाट ठूलो परिमाणमा भग्नावशेष र चट्टानसहितको लेदो बग्ने क्रम बुधबारसम्म पनि रोकिएको छैन । यस्तो भेल मानवस्वास्थ्यका लागि घातक हुनसक्ने जानकारी स्थानीय रेडियोहरुले दिइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.