काठमाडौं,असार २३ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिवित सालक खरिद विक्रि गर्न लागेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ ।
वातावरण तथा वन्यजनतुसंग सम्बन्धित अपराध रोकथाम तथा अनुसन्धान गर्ने क्रममा केन्द्रीय ब्यूरो अनुसनधानबाट खटिएको टोलिले कामनपा ४ को शंखपार्क अगाडी सालक सहित पक्राउ गरीएको हो ।
Cltes महासन्धी १९७५ को अनुसूची १ मा लोपन्मुख प्रजातीको सूचीमा रहेको सालक लिएर हिडेको काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं २ बस्ने २९ बर्षीय राजेन्द्र तामाङ र वाग्लुङ्ग जिल्ला निसिखोला गाउँपालिका वडा नं २ बस्ने ३१ बर्षीय दुर्गबहादुर विकलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
उनीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ को दफा २१ (१) (क) बमोजिम कसुर गरेको प्रहरीको ठहर छ ।
यसरी गैरकानुनी तरिकाले संरक्षित वनजन्तु मार्ने, खरिद विक्रि गर्ने वा ओसार पसार गर्नेलाई पाँच देखि दश लाख जरीवाना र पाँच देखि पन्ध्र बर्षको कैदको व्यवस्था भएको ब्यूरोको प्रवक्ता कृष्णहरी शर्माले बताए ।