जुवातास खेलिरहेको अवस्थामा २९ जना पक्राउ

| 2022 Mar 19 | 08:50 pm 1745

काठमाडौं, चैत ५ः काठमाडौं र ललितपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-१५ कारखाना चोकस्थित मन्जुश्री यातायात प्रालिको बस ग्यारेजबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं नागार्जुन नगरपालिका-२ गौरीगाउँ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-२ घर भएका ४९ वर्षीय दोर्जे तामाङ लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६१ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-९ शम्भूमार्गस्थित ४५ वर्षीय पशुपति राईको न्यौपाने खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राई लगायत १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै ललितपुर ललितपुर महानगरपालिका-८ सुन्धारा डेरा गरी बस्ने रजित महर्जनको कोठामा जुवा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ सुन्धारा बस्ने श्याम महर्जन लगायत ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ९८ हजार ८ सय ४५ रूपैयाँ, कौडा २२ थान, पासा खेल्न प्रयोग हुने लामो गोटी ३ थान, सानो गोटी १६ थान र पासा खेल्न प्रयोग हुने थर्पु कपडा १ थान सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.