जुम्ला, साउन ३: डा गोविन्द केसीलार्इ अपहरण शैलीमा काठमाडौं ल्याउन खोजेपछि स्थानीयले अवरोध गर्न खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस प्रहार गरेको छ। प्रहरीले गरेको लाठीजार्जबाट दुर्इ दर्जनभन्दा बढी चिकित्सक तथा स्थानीयहरु घाइते भएका छन्।
डा गोविन्द केसीलाई सरकारको निर्देशनमा बिहीबार काठमाडौं पठाउन पुगेको कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली अस्पतालबाट केसीलाई नभेटी फर्किएसँगै अन्धाधुन्द प्रहरीले लाठी चार्ज गरेको हो।
समाचार संकलन गरिरहेका पत्रकार माथि पनि प्रहरीले अवभद्र व्यवहार गरी लाठी चार्ज गरेको दृश्य खिचे क्यामरा फुटाइदिने धम्की समेत दिएका छन्।
बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं पठाउन सरकारले निर्देशन दिएपछि त्यसको समन्वय गर्न कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए।
अस्पताल बाहिर स्थानीय र भित्र विद्यार्थी तथा चिकित्सकले मानव साङ्लो बनाएर अवरोध सिर्जना गरेपछि मुख्यमन्त्री र कानुनमन्त्री फर्किसकेका छन्। केसीको पक्षमा नाराबाजी गर्दै विद्यार्थीले बाटो छेकेपछि त्यहाँकै भीसीसँग केही बेर कुराकानी गरेर उनीहरु फर्किएका हुन्।