- रामबहादुर थापा
बागलुङ, २२ जेठ : लामा सेतै फुलेका दाह्रीजुँगा, बुढ्यौली झल्कने अनुहार, पुराना लुगाले छोपिएको शरीर, ठेला परेका हत्लेका र पैताला, एक जोर पुराना चप्पल देख्दा जीवनको उत्तरार्धमा पुगिसक्नुभएका होमबहादुर क्षेत्री धेरै काम गर्न सक्नुहुन्न तर ६८ वर्षीय क्षेत्रीको लेखाजोखा एकै हेराइमा गर्न खोजियो भने त्यो गलत हुन्छ ।
नौ वर्षमै घरबार त्यागेर फिरन्ते जीवन रोज्नुभएका क्षेत्री हेर्दा सामान्य लागे पनि उहाँ सामाजिक व्यक्तित्वका धनी छन्। काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका क्षेत्री हाल जैमिनी नगरपालिका–७ जैदीमा बस्नुहुन्छ । जैदीमा आफ्नै कमाइले बनाएको सानो घर छ, त्यहाँ पनि बस्छन्। बोलीमा धन र जायजेथा जोड्नु ‘गलत कर्म’ हो । क्षेत्री सामाजिक काम गर्छन्, गाउँलेको पिरमर्कामा सघाउछन्, गाउँलेकैमा खाने र सुत्ने गर्छन् । स्थानीय संस्कृत मावि बेलबगरमा अझै कार्यालय सहयोगी रहेका उनका दिनभर विद्यालयको सेवा गर्दै अाएका छन् ।
क्षेत्रीले विद्यालयमा काम गर्न थालेको ४१ वर्ष पुगिसकेको छ । अचम्म लाग्दो त के छ भने विद्यालयबाट आउने तलब एक रुपैयाँ पनि आफूले राखेका छैनन् । “मेरो कमाइजति सबै विद्यालय र संघसंस्थालाई दिएँ”, क्षेत्रले भने, “मेरो साथमा एक रुपैयाँ छैन ।” साथमा धन आउनेबित्तिकै अरुलाई दिइहाल्ने उहाँ बताउनुहुन्छ, “धनसम्पत्तिको लोभ गर्दिनँ साथमा भयो कि दिउँदिउँ लाग्छ । ”
कार्यालय सहयोगीका रुपमा आफैँले काम गर्ने संस्कृत माविको पहिलो संस्थापक चन्दादाता क्षेत्री नै हुन। उनले श्रमदानबाहेक विद्यालयलाई रु एक लाख नगद चन्दा दिएका छन् । संस्कृत माविसँगै अर्जेवाको जनशिक्षित माविलाई रु ७५ हजार, छिस्तीको वसन्त माविलाई रु २५ हजार, जैदीकै शारदा प्राविलाई रु १५ हजारलगायत गरी गाउँका दर्जनभन्दा बढी विद्यालयलाई क्षेत्रीले चन्दा सहयोग गर्दै अाएका छन् ।
जैदी बोरको जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबलाई हालसम्म रु ७५ हजार सहयोगगगरेका छन् । “सबै कुरा मलाई सम्झना छैन, मेरो कमाइजति सबै समाजलाई दिएको छु ।” चन्दा सहयोगको कुनै हिसाब नभए पनि उहाँले हालसम्म रु १४ लाखभन्दा बढी सहयोग गरेको क्षेत्री बताए । रासस