काठमाडौँ ३१ साउन / सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई (जीबी) राईमाथि अनुसन्धान गर्न नेपाल प्रहरीको टोली मलेसिया पठाउने तयारी गरिएको छ । मलेसियामा रहेका राईलाई नेपाल फिर्ता ल्याउन नसकिएपछि नेपाल प्रहरीको टोली नै मलेसिया पठाउन लागिएको हो ।
प्रहरी प्रधान कार्यालयले ‘मलेसिया सरकार र त्यहाँको प्रहरीसँग समन्वय गरेर जीबी राईलाई नियन्त्रणमा लिन आवश्यक पहलकदमी गर्नुपर्ने हुनाले दुई प्रहरीलाई मलेसिया जान स्वीकृत गरिदिनु हुन र प्रहरी प्रधान कार्यालयसँग यथेष्ठ बजेट समेत नभएकाले त्यसको व्यवस्था समेत गरिदिनु हुन’ भन्दै गृहमा पत्राचार गरेको छ ।
राईविरुद्ध यसअघि नै इन्टर पोलबाट रेड नोटिस जारी भएपनि नेपाल सरकारले उनलाई फिर्ता ल्याउन सकेको छैन । उनी मलेसियामा व्यवस्थितरूपमा बसिरहेको नेपाल प्रहरीको निष्कर्ष छ ।
राई सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष हुन् । उक्त सहकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार रुपैयाँ हिनामिना गरेको भन्दै सहकारीका पदाधिकारी विरुद्ध प्रहरीमा जाहेरी परेको थियो ।
सहकारी ठगिबारे छानबिन गर्न सूर्य थापाको संयोजकत्वमा बनेको संसदीय छानबिन समितिले पनि जीबीसहित १८ जनालाई नेपाल ल्याउनुपर्ने भन्दै गृहलाई पत्राचार गरेको थियो ।