काठमाडौं, मंसिर १८: प्रदेश सरकार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले मंगलबार बागलुङमा भएको जीप दुर्घटनामा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञाप्ति जारी गरेका छन् ।
मुख्यमन्त्री पोख्रेलद्वारा हस्ताक्षरी शोक विज्ञप्तिमा दिन प्रतिदिन बढीरहेको सडक दुर्घटनाले नागरिकको ज्यान जोखिममा पर्दै गएको जनाइएको छ । बढ्दो सडक दुर्घटनालाई न्यूनिकरण गर्न सरकार संवेदनशिल बनेको विज्ञप्तिमा उल्लेख छ ।
सडकको क्षमता भन्दा धेरै यातायातका साधनको आवागमन, चालकको लापरवाही सवारी साधनको अवस्था लगायत विविध कारणले दुर्घटना भई रहेकोले दुर्घटना न्यूनिकरणका लागि सबै पक्ष संवेदनशिल हुन जरुरी रहेको जनाइएको छ ।
मंगलबार गुल्मीको इस्माबाट निसीतर्फ जाँदै गरेको लु १ ज ५२१९ नम्बरको जीप बागलुङको बडिगाट गाउँपालिका वडा नम्बर ७ को भिमगिठेमा दुर्घटना हुँदा १४ यात्रुको निधन भएको थियो भने एक बेपत्ता र तीन जना घाइते भएका थिए ।
घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
शोक विज्ञप्ति
