जीप दुर्घटनामा गम्भिर घाइते भएका सीडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

रिपोर्ट नेपाल | 2019 Jan 27 | 03:26 pm 1334

काठमाडौँ, माघ १३ :  जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ । वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचाररत भट्टराईलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाैं ल्याएकाे हाे ।

उनको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार गरिने बताइएको छ । दुर्घटनामा गम्भीर घाइते भएपछि तत्काल उपचारका लागि उनलाई वीरगञ्ज हेल्थकेयर अस्पतालमा भर्ना गरिएकाे थियाे ।

शनिवार साँझ बा. १ झ. १६३३ नम्बरको स्कार्पियो जिपमा बाराको निजगढबाट कलैया फर्कंदै गरेका प्रमुख जिल्ला अधिकारीको स्कार्पियो निजगढ–पथलैया सडक खण्डको पसाहा खोलामा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परेर प्रजिअको जिपमा सवार प्रहरी हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल घाइते भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.