जिल्ला अदालत इलाममा सम्बन्ध बिच्छेदका १ सय १५ वटा मुद्दा विचाराधीन

| 2021 Mar 29 | 07:43 am 2117

इलाम, चैत १६ः जिल्ला अदालत इलाममा फागुन मसान्तसम्म ७ सय ६ थान मुद्दामा ३ सय १० थान सम्बन्ध बिच्छेदका मुद्दा रहेको पाइएको छ । त्यसमध्ये १ सय ९५ थान मुद्दा फछ्र्यौट भइसकेको र १ सय १५ वटा मुद्दा विचाराधीन रहेका छन् । वैदेशिक रोजगारीको कारण परिवारमा खटपट हुने, महिला हिंसा र उमेर नपुग्दै विवाह गरेकाहरूले सम्बन्ध बिच्छेद गर्ने गरेका छन् ।

सम्बन्ध बिच्छेद गर्नेहरूले आफूले पाउने अंशमा समेत दाबी नगरी सम्बन्ध बिच्छेद गर्ने गरेको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्रराज भट्टराईले बताए । ‘सम्बन्ध बिच्छेदको निवेदन दिने करिब आधाले अंशको माग दाबी गर्दैनन्’, भट्टराईले भने, ‘अंशको माग दाबी गर्दा सम्बन्ध बिच्छेदको प्रक्रिया लम्बिने भएकाले महिलाले अंशको माग दाबी नगरेको पाइन्छ ।’

सम्बन्ध बिच्छेद गर्दा महिलाले अंशको एक भाग पाउने कानुनी व्यवस्था छ । तर, त्यसो गर्दा सम्बन्ध बिच्छेदको छिनोफानो गर्न बढी समय लाग्छ । सम्बन्ध बिच्छेदपछि अदालतमा अंश मुद्दाको चाप छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका सहित ७५ थान मुद्दा छ । त्यसमध्ये २१ थान फर्छ्याैट भइसकेको छ भने ४६ थान बाँकी छ ।

अशंपछि जबरजस्ती करणीको मुद्दाको चाप छ । ४८ थान जबरजस्ती करणीको मुद्दा रहेकोमा २८ थान फैसला भएको छ २० वटा विचाराधीन छन् । कर्तब्य ज्यानको १९ वटा मुद्दा दर्ता भएकोमा सातवटा फैसला भएको छ भने १२ वटा मुद्दा बाँकी छन् । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.