काठमाडौं, भदौ २५ : जापान पठाई दिने भन्दै १ करोड, ३१ लाख ५० हजार रुपैयाँ ठगी गर्ने मुद्दाका मुख्य नाइके पक्राउ परेका छन् । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका वडा नं- १३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई आइतबार बसुन्धराबाट प्रहरीले पक्राउ गरेको हो ।
विमान सेक्युरिटी एण्ड सर्भिस प्रा.लि को अध्यक्ष र संञ्चालक रहेका दनुवारले जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागी पठाई दिन्छु भनी ठगी गर्दौ आएका थिए । जापानमा प्रति महिना १ लाख २१ हजार ३३३ रुपैयाँ तलब हुन्छ भन्दै रोजगारीमा जापान जानेहरूको लागि जापनिज भाषा समेत सिकाउँदै आएका थिए ।
दनुवारले प्रति व्यक्ति रु. ७ लाख देखी रु.१२ लाख सम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड, ३१ लाख ५० हजार रुपैयाँ ठगी गरेको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जले जनाएको छ । व्यूरोले थप अनुसन्धानको लागी दनुवारलाई जिल्ला अदालत काठमाडौं पठाइसकेको छ ।
पीडितहरूलाई विश्वास दिलाउन सविन प्रकाश दनुवारले आफ्नो सालो नाता पर्ने लालमणि दनुवारलाई समेत जापान पठाउन लागेको भनी जापनिज भाषा कक्षामा सहभागी गराउने गरेको थिए ।
यस अघि यसै मुद्दामा संलग्न भएको आरोपमा नुवाकोट दुप्चेश्वर-७ घर भई जोरपाटी चामुण्डा बस्ने ३३ वर्षीया सरिता गुरुङ र जिल्ला उदयपुर, त्रियुगा नगरपालिका ९ घर भर्इ नेपालटार बस्ने वर्ष २३ को लाल मणि दनुवारलाई मिति २०७४/१०/८ गते र ९ गते पक्राउ गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतले तोकेको १० लाख धरौटी तिर्न नसक्दा सरिता गुरुङलार्इ केन्द्रीय कारागार चलान गरेको थियो । लाल मणी दनुवार १० लाख धरौटी राखी तारेखमा छुटेका थिए, भने निज सविन प्रकाश दनुवार उक्त मिति देखि नै फरार रहेका थिए ।