जापानीले रोपे चाँगुनारायणमा १७ हजार बिरुवा

रिपोर्ट नेपाल | 2018 Jul 07 | 06:56 pm 2388

काठमाडौं, असार २३: चाँगुनारायणमा चाँपको जंगल बनाउन चाहने जापानी नागरिकको एक समूहले पाँच वर्षमा १७ हजार बिरुवा रोपेको छ ।

जापानको योकोहामा सिटी विश्वविद्यालय, यामादा माहुरी फार्म र चाँगुनारायण सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा ‘मियावाकी’ विधिबाट आज चाँगुनारायण मन्दिर नजिकको सामुदायिक वनमा तीन हजार बिरुवा रोपेको हो । सन् २०१४ देखि जापानी समूहले यहाँ बिरुवा रोप्दै आएको छ।

साना बिरुवा रोपेर परालले छोपी पानी हाल्ने व्यवस्था मिलाउने विधिलाई ‘मियावाकी’ भनिन्छ। जापानको यामादा माहुरी फार्मले नेपालमा २० वर्षअघिदेखि यो तरीकाले बिरुवा रोप्दै आएको छ । सन् १९९९ मा काभ्रेपलाञ्चोकबाट यो विधिले बिरुवा रोप्न शुरु भएको हो। यो विधिबाट बिरुवा रोप्दा बाढी, पहिरोलगायतका विपद्को जोखिम न्यूनीकरण हुने जनाइएको छ।

वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रदेशसभा सदस्य नरोत्तम वैद्य, नेपालका लागि जापानी राजदूत साइगो मासामिची, भक्तपुरका जिल्ला वन अधिकृत फणीन्द्र पौडेल, जापानमा कार्यरत नेपाली कानून व्यवसायी डा बलराम श्रेष्ठ, योकोहामा सिटी विश्वविद्यालयकी प्रा डा फुजिवारा, यामादा माहुरी फार्मका प्रतिनिधि आकाहोसीलगायतले बिरुवा हुर्काउन ‘मियावाकी’ विधि प्रभावकारी हुनेमा जोड दिए।

यो विधिबाट बिरुवा रोप्दा तीन वर्षमा आठ फिट अग्लो हुने गरेको जानकारी गराइयो । कटुस, पलाँस, चिलाउने, रुद्राक्ष, चाँप, काफल, पैयुँ, प्वाँले, तेजपात, कालीकाठ, खरी, लाँकुरीलगायत जातका तीन हजार बिरुवा रोपिएको कार्यक्रम संयोजक श्रेष्ठले सुनाए।

चाँगुनारायण मन्दिरमुनिको सामुदायिक वनमा पाँच वर्षअघिदेखि यामादा माहुरी फार्मको संयोजकत्वमा वृक्षरोपण गरिँदै आएको छ । यसका लागि ३० जना जापानी आफ्नै खर्चमा स्वयंसेवकका रुपमा नेपाल आएका छन्।

सो जापानी समूहले २० वर्षको अवधिमा चार लाख ६० हजार ९९१ वटा बिरुवा रोपेको सो अवसरमा जानकारी गराइयो। सन् २०१४ देखि जापानी समूहले चाँगुनारायणमा बिरुवा रोप्दै आएको हो । त्यसअघि काभ्रेपलाञ्चोक र ललितपुर जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.