जापानका विदेशमन्‍त्रीको ‘बर्थ डे’ बालुवाटारमा, ओलीको ‘सरप्राइज गिफ्ट’

| 2019 Jan 10 | 11:46 am 1539

काठमाडौं, पुस २६ : नेपाल भ्रमणमा रहेका जापानका विदेशमन्त्री कानो तारोले बालुवाटारमा जन्मदिन मनाएका छन् । बिहीबार बिहान प्रधानमन्त्री केपीशर्मा ओलीसँग भेटवार्ता गर्दै उनले बालुवाटारमै जन्मदिन मनाएका हुन्।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले कानोलाई सरप्राइज गिफ्ट भन्दै बधाई दिएका थिए । कानो ५६ वर्षमा प्रवेश गरेका छन् । उनले नेपालका प्रधानमन्त्रीसँग जन्मदिन मनाउने अवसर पाएको भन्दै खुसी व्यक्त गरे ।

यस्तै प्रधानमन्त्री ओली र जापानी विदेशमन्त्रीबीच भएको भेटमा नेपाल र जापानबिच भएको हवाई सम्झौताका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

त्यस्तै परराष्ट्रविद भट्टराईले प्रधानमन्त्रीसँगको भेटमा जापानले कृषि क्षेत्रमा पनि लगानी गर्न इच्छुक रहेको बताए। त्यस्तै नेपाली श्रमिकहरु लैजानका लागि माघ महिना भित्रै सबै कानुनी प्रक्रिया टुंग्याउने बारेमा पनि छलफल भएको भट्टराईले जानकारी दिए।

नेपालसँग श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा काठमाडौँ आउने तथा नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रबर्द्धन र विशेषगरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापानबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त भएको उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.