जातीय विभेदविरुद्ध युगान्तकारी फैसला

| 2023 Dec 06 | 08:17 am 457

रुकुम पश्चिम, काठमाडौं, मङ्सिर २०। जातीय छुवाछूतले निम्त्याएको नरसंहारविरुद्ध रुकुम पश्चिम जिल्ला अदालतले ऐतिहासिक फैसला गर्दै २४ जनाविरुद्ध जन्मकैद ठहर गरेको छ । महान्यायाधिवक्ताको कार्यालयका अनुसार नेपालको न्यायिक इतिहासमा यति ठूलो संख्यामा जन्मकैदको फैसला भएको यो पहिलो मुद्दा हो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा नवराज विकसहित ६ युवाको हत्यामा संलग्न भएको अभियोग लागेका ३४ मध्ये २४ लाई न्यायाधीश खड्गबहादुर केसीको मंगलबारको इजलासले दोषी ठहर गर्दै जातीय छुवाछूतको कसुरमा थप दुई वर्ष कैद र ५० हजार जरिवाना हुने फैसला सुनाउँदा जिल्ला अदालतमा सन्नाटा छाएको थियो । लामो समयदेखि न्यायको पर्खाइमा बस्दा अनेक सन्देहले गलेका नवराजका बुबा मुनलाल नेपालीले मंगलबार फैसला सुनेपछि सन्तुष्टिको सास लिए । मुद्दाको अन्तिम फैसला सुनुवाइको अघिल्लो दिनदेखि नै मुनलालसहितका पीडितहरू अदालतको मूलद्वारमै २४ घण्टे धर्नामा बसेका थिए ।

‘छोराका हत्यारालाई जोगाउने अनेक खेल एकातिर चलिरहेको थियो भने अर्कातिर अदालतमा मुद्दा नै छिनोफानो हुन सकिरहेको थिएन,’ मुनलालले भने, ‘यस्तोमा न्याय नै नपाइने हो कि भन्ने शंकाले मन भुटभुटिएको थियो, बल्ल फैसला आयो, अब हाईसुख भएको छ ।’ सोती घटनामा नवराजसँगै ज्यान गुमाएका सन्दीप विककी आमा सविता विश्वकर्माको खुसी पनि उस्तै थियो ।

‘अकालमै ज्यान गुमाएका हाम्रा छोराको रगतले अब बाटो पाउने भयो,’ उनले भनिन्, ‘ढिलो भए पनि न्याय मिलेको छ, सबैलाई धन्यवाद ।’ डम्बरबहादुर मल्ल, डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन (सर्वजित), तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती, विराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, विष्णु मल्ल, रुकुम पश्चिम ५४ (३६) १, रुकुम पश्चिम ५४ (३६) ३ र रुकुम पश्चिम ५४ (३९) दोषी ठहर भएका छन् ।

यसअघि जिल्ला अदालतको आदेशमा रुकुम पश्चिम ५४ (३९) भने साधारण तारिखमा छुटेका थिए, बाँकी दोषी पुर्पक्षका लागि कारागार चलान भएका थिए । नवराजकी प्रेमिका (रुकुम पश्चिम ५४ (३६) र आमा (रुकुम पश्चिम ५४ (३६) २) लाई पनि जातीय छुवाछूतको कसुरमा २ वर्ष कैद र ५० हजार जरिवाना सुनाइएको छ । उनीहरू दुवै जिल्ला अदालतको पुर्पक्षको आदेशमा तारिखमा छुटेका थिए । दोषीहरूबाट जनही ४० हजार रुपैयाँ भराउने र उक्त रकम मृतकका परिवारलाई दामासाहीले दिने पनि फैसलामा उल्लेख छ । तुलाराम घर्ती, डिल्ली घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन, भीमबहादुर बुढा, इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्दले भने सफाइ पाएका छन् ।

जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक सोती गाउँकी मल्ल थरकी किशोरीसँग प्रेममा थिए । उनलाई भगाउन भनी आफ्ना साथी लिएर २०७७ जेठ १० मा प्रेमिकाको घरमा पुगेका बेला उनीहरूमाथि केटीपक्षका परिवार र स्थानीयले योजनाबद्ध आक्रमण गरे ।

यसै क्रममा नवराज र उनका साथीहरू सन्दीप विश्वकर्मा, टीकाराम सुनार, गणेश बुढा, लोकेन्द्र सुनार र गोविन्द शाहीको ज्यान गएको थियो । उनीहरूको शव दुई सातासम्मको खोजीपछि भेरी नदी किनारबाट संकलन गरिएको थियो । घटनामा अरू १२ जना घाइते भएका थिए । घटनालगत्तै नवराजका बुबा मुनलालको जाहेरीमा चौरजहारी–८ का तत्कालीन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित ३४ जनाविरुद्ध २०७७ जेठ ३२ मा मुद्दा दायर भएको थियो । त्यसमध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछूत कसुरको अभियोग र एक जनालाई यी सबै अपराधमा मतियारको भूमिका निर्वाह गरेको अभियोग लागेको थियो ।

प्रहरीलाई दिएको जाहेरीमा मुनलालले छोरा नवराज र सोती गाउँकी किशोरीबीच लामो समयदेखि भएको प्रेमसम्बन्धका कारण उनको षड्यन्त्रपूर्वक हत्या भएको उल्लेख भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरेका थिए । नवराजलाई ‘काफल खान आउनु’ भनी केटीले नै फोन गरी बोलाउन लगाएर छोरा र उनका साथीलाई घेरा हाली कुटीकुटी मारेर सेतीमा बगाइदिएको उनको जोहरीमा उल्लेख छ । प्रहरीमा नाम निकालेका नवराज घटनाको भोलिपल्ट जागिरको पहिलो हाजिरी गर्न घरबाट जानेवाला थिए । ‘तपाईं प्रहरीमा भर्ती भएपछि भेट हुँदैन’ भनी किशोरीले आफन्तको दबाबमा नवराजलाई घरमा बोलाएकी थिइन् ।

घटनाको तीन साताअघि वैशाख १७ दुई साथीसहित सोती गाउँ पुग्दा नवराजलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको थियो । किशोरीका आफन्त पर्ने वडाध्यक्ष डम्बरबहादुर मल्लले लकडाउनको उल्लंघन गरेको भन्दै प्रहरीलाई फोन गरी नवराजलाई थुनाउन लगाएका थिए । बिनाजाहेरी नै प्रहरीले नवराज र उनका दुवै साथीलाई रातभरि थुनेर राखेको थियो । यो थाहा पाएपछि छोरालाई छुटाउन भोलिपल्ट नवराजकी आमा उर्मिला चौरजहारी पुगेपछि वडाध्यक्ष मल्लले परिवारको जिम्मा लगाएर छोडिदिन भनेपछि प्रहरीले फेरि सोती गाउँ नआउने सर्तमा नवराजलाई छाडिदिएको थियो भने चौकीमै स्थानीय युवाले उनलाई पिटेका थिए । यसरी कागज गरिसकेको अवस्थामा नवराज सोतीमा फेरि जानुको एउटै कारण थियो, प्रेमीकाको बोलावट । वैशाख १७ गतेको घटनाका कारण झस्किएका नवराज मेसो मिले भगाउने नै सुरसारले १८ जना साथीका साथ जेठ १० गते सोती पुगेका थिए । घटनामा घाइते भएका उनका साथीहरूका अनुसार प्रेमिकाको घर पुग्ने बेला केटीका आफन्तले नचिनून् भनेर नवराजले मास्क र टोपी लगाएका थिए भने समूहको पुछारमा थिए ।

घाइते युवाहरूका अनुसार किशोरीकी आमाले ‘अस्तिको पिटाइले पुगेन डुम ?’ भन्दै सुरुमै गाली गरेकी थिइन् । ‘आज मरेरै जान्छस्, वडाध्यक्षलाई फोन लगा…’ भनेपछि नवराज केही बोलेनन् भने साथीहरूले ‘हामी त काफल खान आएको हजुर’ भने । किशोरीको आमाले तथानाम गाली गरेपछि आफूहरू त्यहाँबाट तुरुन्तै फर्किर्एको घटनामा घाइते भएका महेश कार्कीले अदालतमा बयान दिएका थिए । उनका अनुसार यसरी फर्कन लाग्दा छिमेकी मानबहादुर मल्लले ‘पानी खाएर जाउँ’ भनेर अलमल्याउन खोजेका थिए । उनको आग्रहलाई टार्दै आफूहरू त्यहाँबाट ओरालैओरालो झरी आधा घण्टापछि एउटा ढुंगामा बसेको अर्का घाइते सुदीप खड्काको बयान छ । त्यसै बेला माथिबाट गाउँलेको हूल लाठा र हतियारका साथ आइलाग्यो । उनीहरू ज्यान जोगाउन दौडँदै निर्माणाधीन मध्यपहाडी लोकमार्गमा पुगेका थिए । त्यहाँ अर्को भीड घरेलु हतियार लिएर उनीहरूलाई ढुकिरहेको थियो । ज्यान जोगाउन सुदीप र अरू केही साथी भेरीको किनारतिर लागे । माथिदेखि ढुंगा बर्साउँदै आएको भीडले त्यहाँ पनि सबैलाई मरणासन्न हुने गरी पिट्यो । भेरीतिर लाग्दा नवराजसहित ६ जनालाई आफूहरूले नदेखेको सुदीप बताउँछन् ।

नवराज विकसहित ६ जनाको सामूहिक हत्या गरिएको विरोधमा २०७७ जेठमा आयोजना गरिएको विरोध सभा । फाइल तस्बिर

पक्राउ परेका प्रतिवादीहरूले अनुसन्धानका क्रममा दिएको बयानअनुसार उनीहरूलाई वडाध्यक्ष मल्लसहितको योजनामा चारैतिरबाट घेरा हाली लखेटीलखेटी मारिएको थियो । त्यति नै बेला वडाध्यक्ष मल्लले प्रहरी नायब निरीक्षक मदन शाहीलाई फोन गरेर ‘चौरजहारीका केटाहरू आएर होहल्ला गरे’ भनी खबर दिएका थिए । चौरजहारीबाट उनीहरूले लकडाउनको उल्लंघन गर्न खोज्दा केही लछारपछार भएको भन्नेबाहेक उनले प्रहरीलाई केही पनि बताएका थिएनन् । वडाध्यक्षकै सूचनाको आधारमा शाहीले ७ किलोमिटर पर सोती गाउँमा प्रहरी सहायक निरीक्षक सन्तोष लामिछाने र प्रहरी जवान किल रोकायालाई मोटरसाइकलमा पठाएका थिए । त्यहाँ उनीहरूले केही नदेखेको खबर शाहीलाई दिए । शाहीले पुनः वडाध्यक्षलाई फोन गरे । वडाध्यक्षले ‘औल जिउला भनी फोन काटेकाले मैले निज प्रहरी सहायक निरीक्षकलाई सो ठाउँमा जान आदेश दिएको हुँ’ भनी शाहीले बयान दिएका छन् ।

घटनास्थलमा प्रहरी आइपुग्दा आफूहरूमाथि कुटपिट भएको देखेर पनि छुट्याउने वा आक्रमणकारीलाई भगाउने कुनै प्रयास नगरेको घाइते युवाहरूको बयान छ । घटनाको केही दिनपछि सुदीपलगायतले बताएअनुसार साँझ ६ बजेतिर भेरी किनारमा चौरजहारी इलाका प्रहरी कार्यालयबाट खटिएका चार प्रहरी पुगे पनि कुटपिट भइरहेको ठाउँतिर नगई डिलमै बसेर सिट्ठी बजाएका थिए । लाठी, हँसिया र ढुंगाले केटाहरूलाई हानिरहेको प्रहरी स्वयंले देखे पनि उनीहरूविरुद्ध केही कारबाही गरिएन । उल्टै, वडाध्यक्ष डम्बरबहादुर मल्ल र नवराजकी प्रेमिकाका बाबुसहित कुटपिटमा उत्रिएको जमातले नै घाइतेहरूलाई प्रहरीको जिम्मा लगाइदिए । केहीपछि इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मसिंह विष्ट घटनास्थल पुगे । रगताम्य घाइतेहरूलाई देखाएर वडाध्यक्ष मल्लले उनीहरूलाई लकडाउनको उल्लंघन गरेकाले कुटपिट गर्नॅपरेको बताए । त्यसैलाई विष्टले पत्याएजस्तो गरी कुनै प्रश्न नै सोधेनन् । रगताम्य भएका १२ घाइतेलाई प्रहरीले हिरासतमा राख्यो । उनीहरूले आफ्ना अरू साथीहरू पनि भएको बताए तर प्रहरीले उनीहरूको कुरै सुनेन ।

त्यसै रात भेरी किनारमा नवराजको शव फेला पर्‍यो । प्रहरीले वडाध्यक्षकै भाकामा उनीहरूलाई खोलाले बगाएको भन्न थाल्यो । घटना बाहिर आएपछि भोलिपल्ट प्रहरी निरीक्षक विष्टले वडाध्यक्षलाई बोलाएर सामान्य सोधपुछ गरे । त्यसको पर्सिपल्ट नवराजका बुबा मुनलाल, मृतक टीकाराम नेपालीका बुबा सोभे र मृतक गणेश बुढामगरका बुबा पदमबहादुरको संयुक्त किटानी जाहेरी पर्‍यो, ‘केटाकेटी बीचको प्रेमसम्बन्धमा केटा दलित भएकाले जातीय विभेदका कारण योजना बनाई अमानवीय तथा क्रूरतापूर्वक हत्या गरेकाले कानुनबमोजिम कारबाही गरिपाउँ ।’

यसरी वडाध्यक्षलगायत २० विरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले वडाध्यक्ष मल्लसहित १२ लाई हिरासतमा लिएको थियो । घटनापछि केटीपक्षले रुकुम पश्चिमबाट चुनाव जितेका माओवादी सांसद जनार्दन शर्मालाई फोन गरी आफूलाई जोगाउन अनुरोध गरेका थिए भने शर्माले पनि त्यहीअनुसार प्रहरीलाई माथिदेखि नै दबाब दिएकाले अनुसन्धान सुस्त बन्यो । त्यसको विरोधमा मानवअधिकारकर्मी, दलित अगुवा र घाइते तथा मृतकका परिवारजनले रुकुम पश्चिममा ठूलो जुलुस प्रदर्शन गर्नॅपरेको थियो ।

घटनाको केही दिनपछि हराइरहेका पाँचमध्ये गोविन्द शाहीको शव भेरीमा फेला पर्दा उनका दुवै हात बाँधिएको, अन्डकोश सुन्निएको र दाँत झरेको थियो । नवराज र उनका साथीलाई चरम यातनाका साथ कुटीकुटी मारेर हात बाँधी नदीमा डुबाइएको थियो भन्ने प्रस्ट पार्‍यो । तर पनि प्रहरीले मुचुल्कमा शाहीको हात बाँधेको अवस्थामा फेला परेको थियो भनेर लेखेन । उनको दाँत झरेको र अन्डकोश सुन्निएको पनि लेखेन । यो खबरले माहोल झन् उत्तेजित र जुलुस आक्रोशित बन्यो ।

यता, सांसद शर्माले घटनाको तेस्रो दिन संसद्मा सोती घटनाको बचाउ गरे । लकडाउनको समयमा नवराजहरू वीरबहादुर मल्ल (नवराजकी प्रेमिकाका बाबु) को घरमा पुगी हूलहुज्जत गरेपछि भएको झडपका क्रममा घटना भएको भन्ने उनको अभिव्यक्तिले पीडितहरूमा अपराधी उम्कने हुन् कि भन्ने चिन्ता र चासो बढायो । दलित अधिकारकर्मी, मानवअधिकारवादी र नागरिक समाजले शर्माको अभिव्यक्तिको आलोचना गरे । घटनाको अनुसन्धान निष्पक्ष हुनुपर्ने भन्दै देशभर प्रदर्शन हुन थाले । त्यसपछि प्रहरीले बाध्य भएर सुरु गरेको अनुसन्धान अगाडि बढाई अभियोगपत्र तयार पारेको थियो ।

किशोरी, किशोरीका बाबुआमा, वडाध्यक्ष मल्ल र अन्य प्रतिवादीले वैशाख १७ को घटनापछि नवराजको ज्यान लिने षड्यन्त्र रचेको उल्लेख छ । त्यसअनुसार उनीहरूले नवराजलाई फकाइफुलाई बोलाएर कुटपिट गरी हत्या गर्ने सल्लाह गरेका थिए । त्यस क्रममा उनीहरूबीच भएको कल डिटेल्स र फोन संवादको अध्ययनबाट पनि यो पुष्टि हुने प्रहरी प्रतिवेदनमा उल्लेख छ । ‘प्रतिवादीहरूको मौकाको बयान, निजहरूको फोन सम्पर्क भएको देखिने कल डिटेल्स प्रतिवेदन, घटनास्थल मुचुल्का, वारदात स्थलको भौगोलिक परिवेश एवं दूरी, वारदातमा प्रतिवादीहरूको उल्लेख्य उपस्थिति र प्रतिवादीहरूको पोलिग्राफ परीक्षण प्रतिवेदनसमेतबाट,’ अभियोगपत्रमा उल्लेख छ, ‘टोपबहादुर मल्ल, परिवर्तित ५४ रुकुम पश्चिम ३६ (३) समेतले मृतकहरू गाउँमा जाँदै गरेको देखेपछि प्रतिवादीहरूले एकापसमा मतसल्लाह गरी नवराज विकसमेत १८ जनाको निगरानी गरी ३ किमिभन्दा टाढा पुगिसकेको अस्थामा समेत नवराजसमेतलाई लाठी, ढुंगाले प्रहार गरी लखेट्दै भेरी नदीको किनारसम्म पुर्‍याई लाती, मुक्का, ढुंगासमेतले प्रहार गरेको तथ्य पुष्टि भएको देखिन्छ ।’

त्यसमाथिको प्रारम्भिक सुनुवाइ गरेको जिल्ला अदालतको आदेशलाई उल्ट्याउँदै उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले उनीहरूमध्ये किशोरीकी आमालाई धरौटीमा र अन्य १० लाई सामान्य तारिखमा छाडी बाँकी २३ लाई पुर्पक्षका लागि कारागार पठाउने सुरु अदालतको आदेश सदर गरेको थियो ।

राजनीतिक दाउपेचले मुद्दामा देखिएको सुस्तताले न्याय नपाइने हो कि भन्ने चिन्ता दलित समुदायमा थियो । ‘तर, ढिलै भए पनि जिल्ला अदालतको फैसलाले न्याय मिलेको अनुभूति भएको छ,’ दलित अधिकार अभियन्ता तथा कांग्रेस नेत्री रीता परियार भन्छिन्, ‘कानुन सबैलाई बराबरी भन्ने सिद्धान्त आज चरितार्थ भयो, यो ठूलो विजय हो न्यायको ।’

अधिकारकर्मीहरूको दबाबपछि सोती घटनाबारे छानबिन गर्न तत्कालीन सभामुख अग्नि सापकोटाले माओवादीका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेका थिए । समितिमा सांसदहरू एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी विशुन्खे, प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव सदस्य थिए । घटनाको १६ दिनपछि संसदीय विशेष समिति गठन भएको थियो । समिति बनेको ५ दिनपछि सदस्यहरूले रुकुम पश्चिम पुगी एक सातासम्म स्थलगत अध्ययन गरेका थिए । त्यसका आधारमा उनीहरूले तयार पारेको प्रतिवेदनमा जातीय विभेद र छुवाछूतकै कारण घटना भएको र त्यसमा प्रहरीले अनुसन्धान र खोजी कार्यमा लापरबाही गरेको उल्लेख छ ।

‘घटना हुनुपूर्व नवराज विक र उनका साथीहरूबीच भएको टेलिफोन तथा प्रत्यक्ष वार्तालाप र प्रतिवादीले पाएको सूचना, घटना हुँदा प्रतिवादीहरूबीच भएको टेलिफोन संवाद एवम् प्रत्यक्षदर्शी र सरोकारवालाको भनाइका आधार, घटनामा उपस्थित भएका मानिसको संख्या, घटनाको प्रकृति घटनापश्चात् तत्कालै देखिएको अवस्था आदिबाट यो घटना संगठित र योजनाबद्ध भएको बुझिन्छ,’ समितिको प्रतिवेदनमा उल्लेख छ । (कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.