जाजरकोटकाे भेरी नगरपालिका–३ सियाँलामा बर्ड फ्लु फेला

| 2021 Mar 10 | 03:46 pm 2625

जाजरकोट, फागुन २६ः जिल्लाको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको जानकारी दिए ।

योसँगै माघयता नेपालमा पाँच पटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुई पटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो ।

बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ । उनले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए ।

बर्ड फ्लु देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । उनका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३ सय ब्वायलर कुखुरा, ३ सय ३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ केजी दाना, २ सय वटा अण्डाको केटसमेत नष्ट गरिएको छ ।

विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको उनले बताए । विभागले बर्ड फ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.