जाजरकोटमा देखिए दादुराका बिरामी

| 2021 Sep 11 | 12:01 pm 549

जाजरकोट, भदौ २६ः नेपालले सन् २०१९ भित्र उन्मूलन गर्ने लक्ष्य लिए पनि २०२१ मा आएर यहाँ दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका–१ रावतगाउँमा गत साउन ८ गते मिल्दोजुल्दो लक्षण भएका बिरामी देखिएपछि जाँच गर्दा दादुराका बिरामी फेला परेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा भेरी–१ रावतगाउँमा १८ बालबालिकाको नमूना सङ्कलन गरी जाँच गर्दा थप दुईमा दादुरा सङ्क्रमण पुष्टि भएपछि अवस्था गम्भीर देखिएको भेरी नगरपालिकाको स्वास्थ्य शाखाका दीपक ओलीले बताए ।

शुक्रबार मात्र प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेत, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाबाट संयुक्तरूपमा स्थलगत अनुगमन गरिएको छ । स्वास्थ्य सेवा कार्यालयले वर्षेनी ददुराविरुद्धको खोप लगाउने गरे पनि त्यो अभियान पूरै असफल भएको स्थानीयवासी बताउँछन् । अन्यत्र पनि जाँच नहुँदा थाहा हुन नसके पनि ददुरा सुरुवा रोग भएकाले यसलाई समयमै उच्च सावधानी अपनाउन नसके अवस्था जटिल भएर जाने ओलीले जानकारी दिए ।

चार जिल्लामा दादुराका बिरामी

सन् २०२० मा दादुराका बिरामी ललितपुर, सर्लाही, झापा र धादिङ जिल्लामा पाइएका थिए । यो साढे तीन महिनाको समयमा १२५ दादुराका बिरामी फेला परेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । सन् २०१९ मा देशभर दादुराका बिरामीको सङ्ख्या ४३० थियो । खोप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरालगायत क्षयरोग र पोलियोजस्ता रोग बढ्न सक्ने चिकित्सकले चेतावनी दिँदै आएका छन् । अत्यावश्यक सेवा रोक्न त मिल्दैन, तर मानिसहरु बालबालिका लिएर खोप लगाउन आउन नपाउने र यातायातका साधन पनि नचलेपछि खोप सेवा बन्द भएकाले समस्या हुँदै आएको चिकित्सकको तर्क छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.