रमेश विश्वकर्मा (गुल्मी)
गुल्मी, जेठ २१ गते । गुल्मीको रेसुंगा नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसार एवम् पर्यटन प्रवद्र्धनका लागि ‘जाउँ हिड रेसुंगा’ अभियान शुभारम्भ गरेको छ । आइतबार रेसुंगा नगरपालिकाको सभाहलमा सो अभियानको नगरप्रमुख खिलध्वज पन्थीले शुभारम्भ गरे ।
अभियानको शुभारम्भ गर्दै नगरप्रमुख पन्थीले गुल्मीको विकासका लागि महत्वपूर्ण इटा थपिने बताए । रेसुंगाको धार्मिक पर्यटनलाई सहयोग पुर्याउन यो अभियानले महत्वपूर्ण योगदान पुर्याउने उनले उल्लेख गरे । पर्यटकीय गतिविधीबाट समुन्नतिको आधार तय गर्न सकिने भन्दै उनले प्रचुर संम्भावना हुँदा–हुँदै पनि पछि परेको रेसुंगामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग मिल्ने बताए ।
पहाडी ग्रामिण क्षेत्रमा तीव्र बसाइसराइका कारण वस्ति खालि हुँदै गइरहेका कारण उक्त समस्यालाई रोक्नका लागि यो अभियानको थालनी गरिएको हो । जिल्लामा रहेका ऐतिहासिक स्थलहरुको प्रचारप्रसार गरि आर्थिक क्षेत्रलाई महत्वपूर्ण योगदान पुर्याउने प्रमुख उद्देश्य रहेको छ । ।’ अभियानका माध्यमबाट ऐतिहासिक पर्यटकीय स्थलहरुको प्रचारप्रसार भई पर्यटकहरुको आगमनले रोजगारी सिर्जना हुने समेत उल्लेख गर्दै स्थानीय पूँजी निर्माण हुने बताए ।
यहाँ रहेका तम्घासस्थान मन्दिर, गर्जुरा पार्क, रेसुंगा महापोखरी, यज्ञशाला, सिद्धबाबा, सानो रेसुंगा, गौशाला लगायत गुल्मी जिल्लामा रहेका पर्यटकीय स्थलहरु इस्मा दरबार, कंके देउराली, भुवाने पार्क, विचित्र गुफा, रिडिधाम, मुसिकोट दरबार, गुल्मी दरबार लगायतका क्षेत्रहरुको प्रवद्र्धन गरिने बताएका थिए ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षमा लगानी सम्मेलन तथा पर्यटकीय गतिविधि सञ्चालन गर्ने उद्देश्यले भ्रमण वर्षको रुपमा मनाउने समेत बताए । स्थानीय परिकारको प्रवद्र्धन गर्ने उद्देश्यले खाना महोत्सव समेत गरिने उनको भनाइ छ ।
त्यस अवसरमा पर्यटन व्यवसायी सुर्दशन खनालले सकेसम्म सरकारी सम्बन्धीत निकायलाई समन्वय गर्न अनुरोध गर्ने नभए नीजि क्षेत्रसँग समन्वय गरि अगाडि बढ्न आग्रह गर्दै खनालले जिल्लामा रहेका पर्यटकीय संम्भावना र सर्किटको विषयमा जानकारी गराए ।
‘सालझण्डी–तम्घास सडक निमार्ण भएपछि यहाँको पर्यटन क्षेत्र माथि उठ्छ । नगरपालिकाले सबै पक्षसँगको समन्वयमा आफ्ना गतविधिहरुलाई सञ्चालन गरेको भन्दै व्यवसायीहरु पनि उत्साहित भएको बताए।
त्यस्तै, रेसुंगा सरंक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले हालै मात्रै रेसुंगा र अयोध्याबीचको सम्बन्धलाई पुर्नताजगी गर्न धार्मिक महायज्ञ सम्पन्न गरिएको बताए । नगरपालिकाले सञ्चालन गरेको यो अभियानले रेसुंगामा धार्मिक पर्यटनको थप विस्तार र विकासका लागि सहयोग पुग्ने उल्लेख गरे ।
रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवर, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले नगरपालिकाले सञ्चालन गरेको अभियानबाट रेसुंगामा पर्यटकहरुको उपस्थिति बढ्दै जाने बताए । सोही अवसरमा अभियानको लोगो अंकित टि–सर्ट सार्वजनिक गरिएको थियो ।
नगरपालिकाको सभाहलमा विभिन्न राजनैतिक दल, उद्योगी, व्यवसायी, नागरिक समाज, साहित्यकार, पत्रकार जनप्रतिनिधिहरुको उपस्थितिमा औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरि रेसुंगाको महापोखरीमा पुगिएको थियो ।