काठमाडौं, साउन ३ः निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) विवादको टुंगो आज लगाउने भएको छ।
पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत आयोगले दुवै पक्षलाई बोलाएर इजलासमा सुनुवाइ गर्न लागेको आयोगका अधिकारीहरूले जानकारी दिएका छन्।
सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा आयुक्तहरूको ५ सदस्यीय इजलास गठन गरेको छ। विवाद पेचिलो बन्दै जाँदा आयोगले गत असार २३ गते इजलास गठन गरेको थियो।
इजलासमा प्रमुख निर्वाचन आयुक्त थपलियासहित आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा छन्। आज पाँचजना आयुक्तहरू इजलास बस्नुहुन्छ, दुवै पक्षलाई बोलाइएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, उहाँँहरूले कानून व्यवसायीहरूले बहस नोट पेश गर्नुपर्ने हुन्छ। इजलासमा उहाँहरूको कतिपय सक्कल कागजात पेश भएको छैन। दुवै पक्षको माइन्युट माग्ने काम आज हुने सम्भावना छ ।
यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाएपनि उनीहरू राजी नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको हो। आजै बहस शुरू भएमा एक पक्षलाई तीन घण्टाको समय दिने आयोगको तयारी छ।