ललतिपुर भदौ ३१ः नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तरगतको जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको नवनिर्मित जलस्रोत प्रयोगशाला तथा तालिम केन्द्र भवन उद्घाटन समारोह सम्पन्न भएको छ ।
गोदावरीमा शुक्रबार बिहान जलस्रोत अनुसन्धान तथा विकास केन्द्रकी कार्यकारी निर्देशक सरिता दवाडीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो भने प्रमुख अतिथिमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी मन्त्री पम्फा भुसाल रहेकी थिइन् ।

प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयकी मन्त्री पम्फा भुसालले ताम्रपत्र अनावरण गरेर भवनको उद्घाटन गरेकी हुन् ।
मन्त्री भुसालले भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नयाँ निर्माण गरिएको भब्य भवन भुकम्प प्रतिरोधात्मक रहेको र यो भवन रिसर्चको निम्ति अनुकुल पनि रहेको बताइन् । उनले पछिल्लो समय विश्वको प्रमुख समस्या जलवायु परिवर्तन भएको बताइन् । विकसित देशहरुले वातावरण बिगारेका कारण हाम्रो जस्तो देश त्यसका कारण पीडित हुनु परेको पनि मन्त्री भुसालले बताइन् ।

त्यसैगरी आफ्नो मन्तव्य दिने क्रममा जलस्रोत तथा सिंचाइका सचिव सागरकुमार राईले भवन निर्माण गरिएकोमा खुसी व्यक्त गर्दै प्रयोगशाला संचालनका लागि दक्ष जनशक्ति आवश्यक रहेको बताए ।
मन्तब्यकै क्रममा ऊर्जा सचिव सुशिल चन्द्र तिवारीले मन्त्रालयसँग सम्बन्धित प्रयोगशाला साथै तालिमहरु पनि संचालन यसै भवनमा गर्ने गरी निर्माण गरिएको बताए । जलस्रोत भनेको नेपालका लागि महत्वपूर्ण प्रकृतिक स्रोत भएको पनि बताए । अब नयाँ नयाँ खोज गर्ने भवन निर्माण भएपछि विभिन्न महत्वपूर्ण कार्यका लागि टेवा पुग्ने पनि उनले बताए ।

कार्यक्रममा मन्त्रालयका विभिन्न विभागका व्यक्तत्विहरु, स्थानीय तहका प्रमुख र अन्य आमन्त्रीतहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त भवन उद्घाटन समारोहमा आफ्ना गहकिला र सान्दर्भिक भानाईहरु राख्दै समारोहकी अध्यक्ष तथा कार्यकारी निर्देशक सरिता दवाडीले समारोहलाई समापन गरेकी थिइन ।
भवन निर्माणका लागि करिब २२ करोड प्रस्तावित भएकोमा करिब १४ करोड २९ लाखमा निर्माण सम्पन्न भएको निर्माण समितिले जनाएको छ ।