काठमाडौँ, ०४ कार्तिक / सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले शुक्रबार बसेको मन्त्रीपरिषद्ले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिँदै चालु आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने बताए ।
स्वास्थ्य मन्त्रालयले कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा ज्वलन उपचारको निःशुल्क व्यवस्था गर्ने प्रस्ताव मन्त्रिपरिषदमा प्रस्तुत गरेको थियो ।
मुलुकमा वार्षिक ५७ हजार मानिस ज्वलनबाट प्रभावित हुने गरेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । ज्वलनको उपचार महँगो भएकाले उपचार नपाएर धेरैले ज्यान गुमाउने गरेका छन् । देशमा ज्वलनको मात्र उपचार गर्ने विशिष्टिकृत अस्पताल छैनन् । यद्यपि काठमाडौं उपत्यकाका केही ठूला अस्पतालले ‘बर्न युनिट’बाट सेवा प्रवाह गर्दै आएका छन् ।
कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालले आगो तथा एसिडलगायत पदार्थले पोलेका बिरामीको उपचार गर्दै आएका छन् । देशको सबैभन्दा पुरानो वीर अस्पतालले पनि गत भदौदेखि बर्न युनिट सञ्चालन गरेको छ ।