जन्मदिनमा मोती भण्डारीको राजनीतिक प्रण : “सभापति बनेर लुम्बिनीमा कांग्रेसलाई पहिलो पार्टी बनाउँछु”

रिपोर्ट नेपाल | 2026 Jun 12 | 01:21 pm 533

बुटवल, असार २८ — नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य एवं युवा नेता मोती भण्डारी ले आफ्नो जन्मदिनको अवसरमा पार्टी संगठन सुदृढीकरण र पुनर्निर्माणप्रति दृढ प्रतिबद्धता व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत शुभेच्छुकहरूलाई धन्यवाद दिँदै भण्डारीले विगत ३५ वर्षदेखि नेपाली कांग्रेसमा निरन्तर सक्रिय र संघर्षशील रूपमा काम गर्दै आएको उल्लेख गरेका छन्। उनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेश सभापतिको जिम्मेवारी सम्हालेर पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ अघि बढिरहेको बताएका छन्।

“तपाईंहरूको माया, साथ र सहयोग रहेमा हजारौँ युवालाई कांग्रेससँग जोड्दै लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने तथा एक्लै बहुमत ल्याउने वातावरण सिर्जना गर्ने गरी पार्टीको पुनर्गठन र पुनर्निर्माणमा लाग्नेछु,” उनले भनेका छन्।

भण्डारीले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा पार्टी निर्माणका लागि जोसुकैले नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहे आफू खुला हृदयले सहयोग गर्न तयार रहेको समेत बताएका छन्। उनले आफू बोलेका कुरा व्यवहारमा उतार्ने व्यक्ति भएको दाबी गर्दै आफ्नो जीवन खुला किताबजस्तै रहेको उल्लेख गरेका छन्।

उनले आगामी दिनमा पार्टी निर्माण र संगठन विस्तारसम्बन्धी स्पष्ट दृष्टिकोणसहित जनतामाझ प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दै “जय नेपाल” को नारासहित आफ्नो सन्देश समाप्त गरेका छन्।

जन्मदिनको अवसरमा भण्डारीप्रति विभिन्न राजनीतिक व्यक्तित्व, शुभेच्छुक तथा समर्थकहरूले शुभकामना व्यक्त गरेका छन्। उनको सन्देशलाई कांग्रेस संगठन सुदृढीकरण तथा युवा परिचालनतर्फ केन्द्रित राजनीतिक प्रतिबद्धताका रूपमा हेरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.