जनप्रतिनिधिलाई जनताले ‘श्रद्धाञ्जली’ दिन थालेपछि…

| 2018 Jun 10 | 06:14 pm 822

मुलुकका जनप्रतिनिधिहरू सबै जीवित नै छन्, तर उनीहरूलाई मतदान गरेर संसदसम्म पुर्याएका आमजनताले तिनलाई ‘रिप’ (RIP) लेखेर श्रद्धाञ्जली दिन थालेका छन् ।
सुन्दा कुरा अनौठो मात्र नभई गम्भीर पनि छ । आखिर जनप्रतिनिधिहरूप्रति यस्तो शब्द किन प्रयोग गरे सर्वसाधारणले ?

पक्कै पनि जनता आफ्ना प्रतिनिधिमार्फत आफ्नो गाउँ–ठाउँको विकास भएको हेर्न चाहन्छन् । जबकि, ठूला–ठूला सपना देखाएर भोट मागेका प्रतिनिधिहरूले जनचाहना अनुसारको काम देखाउन सकेका छैनन् ।

काम गर्न नसकेपछि सामाजिक सञ्जाल प्रयोग गरेर जनताले आफ्ना प्रतिनिधिहरूलाई श्रद्धाञ्जली दिन थालेका हुन् ।

यसरी निराश बनेका जनता भड्किएपछि सांसदहरूले असुरक्षा महसुस गर्न थालेका छन् । सडक निर्माण गर्ने ठेक्का लिएका ठेकेदारले काम नगर्दा जनता आफूहरूप्रति खनिएको उनीहरूको बुझाई छ ।

यो वेदना सांसदहरूले संसदमै उठाएका छन् ।

संसदमा विशेष समयमा बोल्दै नुवाकोटका सांसद हितबहादुर तामाङले काठमाडौंबाट नुवाकोट, रसुवा जाने सडकमा ठेकेदारले काम नगर्दा सर्वसाधारणले सामाजिक सञ्जालमा जनप्रतिनिधिलाई श्रद्धाञ्जली लेख्न थालेको बताए । ‘टोखादेखि गुर्जेभन्ज्याङ खण्डमा ठेकेदारले काम नगर्दा समस्या देखिएको छ । पानी पर्यो भने बाटो अवरुद्ध हुन्छ’ भन्दै उनले निर्वाचित जनप्रतिनिधिको सामाजिक सञ्जालमा फोटो राखेर आरआईपी लेख्न थालेकोले आफूहरू असुरक्षित बनेको गुनासो गरे ।

यस्तै, ओखलढुङ्गाका सांसद यज्ञ सुनुवारले बीपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्न सर्वोच्च अदालतले दिएको आदेशको विरोध गरे भने नेमकिपा सांसद प्रेम सुवालले कलंकी–नागढुङ्गा र कमलविनायक–नगरकोट सडक खण्डको ठेक्का लिने सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीलाई कारबाही गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बचाउ गरेको आरोप लगाए ।

सांसद सुनुवारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गमा ठूला सवारी सञ्चालन गर्न दिने निर्णय गरेको स्मरण गराउँदै सर्वोच्चको निर्णयले खोटाङ, ओखलढुङगा, सोलुखुम्बु, रामेछाप, सिन्धुली र दोलखाका जनताले सास्ती भोग्नु परेको बताए । सर्वोच्चको यस आदेशले दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थ बोकेको सवारी सिन्धुली र महोत्तरी सीमामा थन्किएको उनको भनाई छ । ठूला गाडी रोकिँदा यस भेगका जनता आन्तरिक नाकाबन्दीको परेको तर्क उनले गरे ।

संसदमा मन्तव्य दिँदै हुम्लाकी सांसद रंगमति शाहीले कर्णालीमा सहज र सस्तोमा हवाई जहाजको व्यवस्था गरिदिन सरकारसँग बारम्बार माग गर्दा पनि नभएको बताइन् । दुर्गमको हवाई भाडा बढाउन मन्त्रीले सहमति दिएकोप्रति आपत्ति जनाउँदै भाडा वृद्धिको निर्णय फिर्ता नभए आन्दोलनमा उत्रने उनले बताइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.