जनपथ र सशस्त्र प्रहरीको मिलेमतोमा झापामा व्यापक तस्करी

| 2021 Jun 15 | 02:51 pm 6713

झापा, असार १ः कोरोनाको महामारीले देशलाई थिलोथिलो पारेको र कोरोना नियन्त्रणका लागि सरकारद्वारा जारी लकडाउन कायमै रहेका बेला झापामा जनतालाई घरभित्र थुनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक तस्करी लाइन खुला गरिएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार झापा र इलामको नाका रहेको छबिसेबाट सरन, सचिन, समिर नाम गरेका व्यक्तिलाई लाइन दिएर यो बन्दाबन्दीको समयमा पनि दिनहु यताबाट मटर गइरहेको छ भने भारतबाट कपडा तस्करी भइरहेको छ ।

सर्वसाधारणका गाडीलाई रोकेर कारबाही गर्ने प्रहरीले उनीहरुका थुप्रै गाडी सहजै चल्न दिइएको छ । त्यस्तै बौद्ध चोकबाट पनि यताबाट सुपाडी र उताबाट कपडा आउने गरेको छ ।

हाम्रो समाचार स्रोतका अनुसार झापा जिल्लाका विभिन्न नाकाबाट दिइएको लाइन र तस्करीबाट प्रहरीलाई यतिखेर चाँदीकटाई भएको छ । झापाको तुर्केनी भन्ने ठाउँबाट नारायण र श्याम थापा नाम गरेका व्यक्तिले दिनहुँ काकडभिट्टाका श्याम पिन्टु भन्ने व्यक्तिको सुपाडी ओसार्ने गरेका छन् ।

त्यस्तै सतिघट्टा, गैरीगाउँ, वंशी बगान, ज्यामिर गाडीबाट पनि प्रहरीकै मिलेमतोमा यताबाट मटर, सुपाडी, छोकडा र स्याउ तस्करी भइरहेको छ भने उताबाट कपडा ओसार्ने कार्य भइरहेको छ ।

तिरिङ नकलबन्दा बस समितिका पातले श्याम थापा भन्नेले पनि प्रहरीकै सेटिङमा तस्करी गरिरहेको स्रोतको दाबी छ ।

त्यसैगरी भद्रपुर देवीबस्ती, दोभान, गणेश मन्दीर एरियाबाट दिपेश कार्की भाई र विल्टु भनिने व्यक्तिले किराना सामान र कपडा तस्करी गर्ने गरेका छन् ।

भद्रपुरकै च्यानघारीबाट राजु, मेधु, रोहित र विष्णु भनेर बोलाइने व्यक्तिले नेपालबाट मटर फ्रमलभली लैजान्छन् भने उताबाट कपडा ल्याउने गरेका छन् । त्यस्तै किचकबल भन्ने ठाउँबाट कालिबहादुर, रंजीत, बिमल, हर्क, शन्तोष र ममता नाम गरेकी महिलाको समुहले यताबाट मटर लैजाने र उताबाट ठूलो मात्रामा खैनी भित्र्याउने गरेका छन् ।

बनियानको पाखामारी भन्ने ठाउँ पनि तस्करीबाट अछुतो रहन सकेको छैन । पाखामारीबाट कोनाल, सुरज र रंजितको समुहले ठूलो परिणाममा कपडा भित्र्याउने गरेका छन् ।

त्यसैगरी लोदाबारीको केचना भन्ने ठाउँबाट मटर र छोकडा गइरहेको छ भने सिङ्गो झापालाई पुग्ने गरी भारतबाट माछाका भुरा तस्करी भइरहेको छ । केचनाको पाखामारी भन्ने ठाउँबाट अरुण शाहले प्रहरीकै मिलेमतोमा ठूलो परिमाणमा कपडा तस्करी गरिरहेका छन् ।

मसला र मरिच बगानबाट इन्द्रकुमार भन्नेले स्याउ र खैनीको तस्करी गरिरहेका छन् । यसैगरी लोदाबारीबाट जब्बर राजबंशीको खाइखेती नै यताबाट सुपाडी र मटर लगर उताबाट खैनी ल्याउने भइरहेको छ ।

राजगणको कुटी नाकाबाट तिलक राजवंशी नाम गरेका व्यक्तिले ट्याक्टरबाट चिनी र खैनी ल्याउने गरेका छन् । राजवंशीले ट्याक्टरको अलवा महेन्द्रा पिकअपबाट मटर लैजाने गरेको समाचार स्रोत बताउँछ ।

स्वर्णामती, झापा बजार, कुमरखोद, चागनडुवा लगायतका दर्जनौं ठाउँबाट स्याउ, कपडा र खैनी तस्करी भइरहेको छ । लकडाउनका कारण मुलुकको अर्थतन्त्र दयनीय अवस्थामा पुगेका बेला त्यहाँका प्रहरीका हाकिम, घुमुवा र तस्करलाई भने मालामाल भइरहेको छ ।

प्रहरीको लाइनबाट भएको तस्करीबाट करोडौंको राजस्व छलि भएको स्थानीयबासीहरु बताउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.