सल्यान, पुस १२ः जनता आवास कार्यक्रममार्फतासल्यानमा ५० घर निर्माण हुने भएका छन्। दलित, विपन्न, लोपोन्मुख र सीमान्तकृत समुदायका लागि आवास निर्माण गर्ने सरकारको लक्ष्यअनुसार चालु आर्थिक वर्षमा घर निर्माण गरिने भएको हो।
तीन नगरपालिका र सात गाउँपालिका गरेर १० स्थानीय तह भएको सल्यानमा प्रत्येक स्थानीय तहमा पाँच÷पाँच घर निर्माण गरिनेछ। अहिले जिल्लामा लाभग्राही छनोट तथा सम्झौताको काम भइरहेको पूर्वाधार विकास कार्यालय सल्यानले जनाएको छ।
अहिले जिल्लामा घर निर्माण हुने स्थान र लाभाग्राही छनोटसँगै लाभग्राहीसँग सम्झौताको काम भइरहेको पूर्वाधार कार्यालय सल्यानका प्रमुख विनोद पुनले जानकारी दिए। जनता आवास कार्यविधिअनुसार लाभग्राहीको घर निर्माणका लागि स्थानीय तहले गरेको सिफारिसअनुसार आवश्यक प्रक्रियागत काम भइरहेको उनले जानकारी दिए।
घर निर्माणका लागि प्रत्येक परिवारलेतीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उक्त रकमबाट लाभग्राहीले दुई कोठासहितको जस्ताले छाएको घर र शौचालय निर्माण गर्ने बताइएको छ। साथै कूल रकमको १० प्रतिशत खर्च लाभग्राहीले व्यहोर्नुपर्ने कार्यविधिमा उल्लेख छ। यही आवमा निर्माण सम्पन्न गर्ने गरी जनता आवास निर्माण शुरु गर्न लागिएको कार्यालयले जनाएको छ। नागरिक दैनिकबाट