जनता आवास कार्यक्रमबाट बनेका घर मान्छे नबस्दै जीर्ण

| 2022 Sep 11 | 03:28 pm 189

हुम्ला, भदौ २६ः जनता आवास कार्यक्रमबाट निर्माण भएका घरहरु सेवाग्राही नबस्दै जीर्ण भएका छन् ।  डिजाइन इष्टिमेटअनुसार निर्माण भएका घरमा सेवाग्राहीले बस्न नमान्दा घरहरु जीर्ण बनेका हुन् ।

खार्पुनाथ गाउँपालिका –५ को याङ्चु गाउँका दलित समुदायका लागि निर्माण गरिएका २६ घरको चार वर्ष पुगेको छ । तर हालसम्म एक जना पनि सेवाग्राही ती घरमा बसाई सारेका छैनन् । सेवाग्राही रतन कामीले अपायक पर्ने स्थानमा घर निर्माण भएकाले नयाँ बनेको घरमा कोही नसरेको बताए । सो स्थानमा भुतप्रेत तर्साउने भएकाकारण आफूहरुले सो ठाउँमा बस्न नमानेको उनको भनाई छ ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले पुराना र जीर्ण घरमा बस्दैआएका दलित समुदायका लागि गाउँपालिका केन्द्रसँगै जोडिएको स्थानमा घर निर्माण भएको भए पनि कसैले बस्न नमानेको बताए । नयाँ निर्माण भएका घरमा सेवाग्राही बस्नका लागि हरेक जुक्ति लगाउँदा पनि कुनै सीप नलागेको उनले बताए ।

हाल अधिकांश घरका झ्याल ढोकाको काठ चोरी भएको छ । कुनैको गाह्रो समेत भत्कन थालेको अबस्थामा रहेको उनले बताए । खानेपानीको धारा र शौचालय समेत ती घरका लागि निर्माण गरिएका छन् । तर त्यो लगानी बालुवामा पानी सरह भएको उनको भनाइ छ । कार्यक्रमले एउटा घर निर्माणका लागि साढे दुई लाख रुपियाँ लगानी गरेको उनले बताए । घर निर्माणमा सेवाग्राहीको जनश्रमदान पनि रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.