काठमाडौं, कात्तिक ९: सरकारले जनताका समस्या, गुनासा र कामहरू समयमै सम्बोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको छ ।
यसका लागि सरकारले गुनासो सम्बोधन गर्ने सम्बन्धमा मेलेसियन मोडलसमेत लागू गर्नेगरी छलफल अघि बढाएको छ । जनगुनासो बुझेर तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।
केही व्यक्तिले सरकारका राम्रा काम ओझेलमा पार्ने र साना कमजोरीलाई विषयवस्तु बनाई सम्बोधनका नाममा आफू सेलिबे्रटी हुने क्रम बढेकाले त्यस्तो क्रमलाई रोक्न पनि ‘सरकार हाजिर छ’ नामक कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूले जनाएका छन् ।
मलेसियामा जनताका समस्या तत्काल समाधान गर्न स्पेसल मोबाइल टिम खटाइन्छ र ठाउँका ठाउँ गुनासो सम्बोधन गर्ने गरिन्छ । नेपालमा पनि त्यसैगरी मोबाइल टिममार्फत गुनासो सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउन लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राजधानी दैनिकबाट