काठमाडौँ, मङ्सिर १८ गते – राजनीतिक सङ्क्रमण, विभिन्न समूहले ‘अराजक’ आन्दोलन र अभियानमार्फत व्यवस्थामाथि प्रश्न उठाइरहँदा प्रमुख राजनीतिक दल जनताबिचमा पुगेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले जनतामा जागरण ल्याउने गरी अभियान तीव्र पारेका हुन् ।
संसद्को सबैभन्दा ठुलो दल कांग्रेसले साउन र भदौमा ‘समुदायमा कांग्रेस’ र पार्टीको साङ्गठनिक सुदृढीकरण अभियान सञ्चालन गरेको थियो । अहिले क्षेत्र, जिल्ला र प्रदेशको सम्मेलन चलिरहँदा कांग्रेस महासमितिको बैठकको तयारी पनि गरिरहेको छ ।
कांग्रेस सहमहामन्त्री फर्मुल्लाह मन्सुरले केही सहरमा व्यवस्थामाथि नै प्रश्न उठाउँदै केही समूहले अभियान चलाए पनि यसलाई प्रतिवाद गर्न राजनीतिक दलहरू सक्षम हुने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारमा सहभागी कांग्रेसले जनताको कुरा जिम्मेवारीपूर्वक सुन्छ । हामी अभियानको तयारीमै छौँ तर महासमिति बैठकको निर्धारित कार्यक्रम पुस १६ देखि १९ गतेसम्म हुने भएकाले अहिले त्यसैको तयारी भइरहेको छ ।”
उहाँले महासमितिको बैठक सकिएपछि जनताका बिचमा कांग्रेसलाई अझै सशक्त रूपमा लैजाने कार्यक्रम बनाउने प्रस्ट पार्नुभयो । उहाँले अहिले पनि विभिन्न ठाउँमा आयोजना हुने कार्यक्रममार्फत जनताका भ्रम निवारण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक सङ्कटका कारण केही निराशा छ तर बिस्तारै यो अवस्थामा सुधार आउँछ । जनताका कुरा सुनेर नागरिकका पक्षमा काम गर्ने विषयमा कांग्रेस दृढ छ ।”
एमालेको सङ्कल्प यात्रा
प्रतिपक्षी दल एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ मङ्सिर १४ गते सुरु भएको छ । महासचिव शङ्कर पोखरेलले जनतासँग अन्तर्क्रिया गर्दै सङ्कल्प यात्रा अघि बढाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिले देखिएका राष्ट्रिय सङ्कटका कारण, समृद्धिका लागि दीर्घकालीन योजना र लक्ष्यका साथ एमालेले अभियान थालेको हो । पछिल्लो चरणमा देखिएका प्रतिगामी कदमका सन्दर्भमा पनि जनताका बिचमा स्पष्ट पार्दै हामी अघि बढिरहेका छौँ ।”
श्रमदानमा माओवादी अभियान
माओवादी केन्द्रले सङ्गठन सुदृढीकरणका लागि ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ भदौ १६ गतेदेखि सञ्चालन गरिरहेको छ । अभियान पुस १५ गते सम्पन्न हुने छ । तर माओवादीले पार्टीको अभियानलाई कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकका लागि घरटहरा निर्माण गर्ने अभियानमा रूपान्तरण गरेको छ ।
माओवादी केन्द्रका उपमहासचिव मात्रिकाप्रसाद यादवले जाजरकोट र रुकुमपश्चिममा पार्टीका स्वयंसेवक टोली परिचालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीको जनतामा जाने कार्यक्रम अघि बढिरहँदा भूकम्प प्रभावित जिल्लामा केन्द्रित हुनुपर्ने परिस्थिति आयो । हामी अहिले जाजरकोट र रुकुममा खटिएका छौँ ।”
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा पार्टीका स्वयंसेवकको नेतृत्व गर्दै भूकम्प प्रभावित क्षेत्रमा निरन्तर खटिनुभएको छ । नेता यादवले भूकम्प प्रभावित नागरिकको तत्कालको आवश्यकतालाई दृष्टिगत गरेर घरटहरा निर्माण कार्य अघि बढाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अरू जिल्लामा जनतासँग माओवादी अभियान जारी छ ।”
साना दलका अभियान
राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) सहित अन्य राजनीतिक दलले पनि विभिन्न चरणमा अभियान सञ्चालन गरिरहेका छन् । रास्वपा उपसभापति डोलप्रसाद अर्यालले मङ्सिर २, ३ र ४ गते घरदैलो अभियान सञ्चालन गरिएको र अभियानमार्फत जनताले दिएका सुझावको अध्ययन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यही व्यवस्थामा नागरिकको अवस्था बदल्ने भनेका छौँ । त्यही नीतिअनुसार जनतामा जाने कार्यक्रम अघि बढाएका हौँ ।”
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले संविधानको रक्षा र विकासका लागि पार्टीले निरन्तर आवाज उठाइरहेको बताउनुभयो । उहाँले जनतालाई एकताबद्ध बनाउने, रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने सवालमा सबै राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनतालाई एकताबद्ध र सुसूचित गर्ने विषयमा हाम्रो पार्टी सधैँ प्रयत्नशील छ, विशेष गरी सरकारले सुशासन र रोजगारी सिर्जनालाई नवीन ढङ्गले अघि बढाउन लाग्नु पर्छ, अहिले देखिएका तमाम समस्या क्रमशः समाधान हुन्छन् ।”
(गोरखापत्रबाट)