झापा, चैत ४ः बुधबार बिहान जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती रहेका छन् ।
उनकाे आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकाेमा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । उनकाे मेची अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।
उनीसँगै अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए । उनको अवस्था सामान्या रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरु दुवै ट्याक्टर मजदूर रहेकाे बुझिएकाे छ।