जग्गाको विषयमा बाबु छोराबीच खुकुरी प्रहार एक बाबुको ज्यान गयो

| 2018 Sep 08 | 08:40 pm 1798

सिरहा, भदौ २३ : छोराको कुटाइबाट गम्भीर घाइते भएका लहान नगरपालिका–४ इस्लामपुरका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्युहुनेमा ६० वर्षीय मोहम्मद अताबुल मियाँ रहेको प्रहरीले जनाएको छ । जग्गा जमिन सम्बन्धी विवाद हुँदा माइलो छोरा २६ वर्षीय मोहम्मद कमाल मियाँको कुटपिटबाट शुक्रवार गम्भीर घाइते भएका अताबुल मियाँको बिराटनगरस्थित म्याक्स अस्पतालमा उपचारका क्रममा आज शनिबार मृत्यु भएको हो ।

बृद्ध बुवालाई कुटपिट गर्ने मोहम्मद कमाल फरार रहेकाले उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

जग्गाकै विषयमा विवाद हुँदा सिरहा गोलबजार–३ तेतरीयामा शनिबार बुबाले छोरा र बुहारीमाथि खुकुरी प्रहार गरेको छ ।

गोलबजार नगरपालिका–३ का लक्ष्मण विश्वकर्माले ३० वर्षीय छोरा सञ्जीव विश्वकर्मा र २४ वर्षीया बुहारी सन्तोषी विश्वकर्मामाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते सञ्जीवको टाउकोमा ३२ टाँका लगाएको छ भने बुहारी सन्तोषीको टाउकोमा गहिरो चोट लागेको छ । विश्वकर्मा दम्पतीको स्थानीय भुमिजा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पतालमा लगिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिएका छन्।

खुकुरी प्रहार गर्ने विश्वकर्मालाई नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.