जंगली हात्तीको आक्रमणबाट एक बृद्धकाे मृत्यु

| 2022 Dec 06 | 02:36 pm 2293

माेरङ, मंसिर २०ः मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित मुनालझोडा सामुदायिक वनमा घाँस काट्न गएका एक वृद्ध दम्पतीलाई मंगलबार जंगली हात्तीले आक्रमण गरेको छ।

हात्तीको आक्रमणबाट श्रीमानको मृत्यु भएको छ। श्रीमती भागेर बाँचेकी छन्। आक्रमणबाट मृत्यु हुनेमा सुन्दरहरैँचा–१० का ७३ वर्षीय जयप्रसाद बास्तोला रहेका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार श्रीमती जानुका बास्तोलासँगै घाँस काट्न जंगलमा गएका बेला जयप्रसादलाई बिहान ८ बजेतिर हात्तीले आक्रमण गरेको थियो।

घाँस काट्ने क्रममा अचानक जंगली हात्ती देखा परेपछि वृद्ध दम्पतीले भाग्ने प्रयास गरेका थिए। तर जयसप्रसाद भाग्न नसकि त्यहीँ लडे। श्रीमती जानुकाले भने भागेर ज्यान बचाएको प्रहरीले जनाएको छ। जंगलबाट आत्तिदै भागेर गाउँ पुगेपछि हारगुहार गरी उनले गाउँलेलाई घटनाको जानकारी दिएकी थिइन्।

त्यसलगत्तै स्थानीय बासिन्दा जयप्रसादको खोजीका लागि जंगलतर्फ गएका थिए। स्थानीयले खोजी गर्ने क्रममा दिउँसो १ बजेतिर मुनालझोडा सामुदायिक वनभित्रै शव भेटिएको डीएसपी श्रेष्ठले बताए। शव फेला पारेपछि जंगलमा पुगेकाहरुले प्रहरीलाई घटनाको जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार जयप्रसादलाई मारेपछि हात्ती त्यहाँबाट अन्यत्र गएको हुनसक्ने अनुमान गरिएको छ। स्थानीय र प्रहरी पुग्दा घटनास्थल वरपर हात्ती फेला नपरेको उनले बताए।

उनका अनुसार मृत फेला पारिएका जयप्रसादको शरीरका विभिन्न भागमा हात्तीले आक्रमण गरेको चोटपटक छ। घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी श्रेष्ठले दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.