छोरीको शिक्षादीक्षा र बिहेप्रति उदार बन्दै मधेस

| 2021 Oct 08 | 08:33 am 285

वीरगंज, असाेज २२ः कुनै समयमा सानै उमेरमा माइतीबाट बिदा भई ससुरालको ‘चौकठ’ भित्र ‘घुघ’ (घुम्टो) ओढेरकैद हुने मधेसका ‘बेटी’ (छोरी) हरू अहिले गाउँका विद्यालयदेखि समुद्र पारिका देशसम्म पढ्न जान पाएका छन्। छोरीहरूको शिक्षाका लागि परिवारले लगानी रअवसरप्रदान गर्न थालेपछि समाजमा यस्तो परिवर्तन सम्भव भएको जानकार बताउँछन्।

यही असोज ५ गते छोरीहरूलाई तेस्रो मुलुकमा पढ्न पठाउन पाँचजना अभिभावक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। उनीहरूले विमानस्थलमा छोरीहरूसहित खिचेको तस्बिरलाई सामूहिक रूपमा सामाजिक सञ्जालमा राखेका थिए। उक्त तस्बिरले मधेसमा छोरीप्रतिको धारणा र व्यवहारमा आएको व्यापक परिवतर्नको प्रतिनिधित्व गरेको विश्लेषक चन्द्र किशोर बताउँछन्।‘यो सामाजिक परिवर्तन हो।

पहिला मधेसमा छोरीलाई छिमेकीको घरमा प्रसाद पुर्‍याउन पठाउँदा समेत भाइलाई साथै पठाइन्थ्यो। अहिले यही समाजबाट छोरीहरूलाई भारत वा तेस्रो मुलुक पढ्न पठाउन थालिएको छ,’ किशोरले भने, ‘यसले छोरीलाई पढाउन हुन्न भन्ने सोचमा परिवर्तन आएको देखाउँछ। परिवार र समाजले हेर्ने दृष्टिकोण फेरिएसँगै छोरीहरूमा पनि आत्मविश्वास बढेको छ। आर्थिक रूपमा पनि छोरीहरूका लागि खुलेरलगानी गर्न थालिएको छ।’

शिक्षाले गर्दा छोरीहरूको सुरक्षाको अवस्था पनि मजबुत बन्न थालेको किशोरले बताए। ‘समाजमा दाइजोको रकमभन्दा छोरी–बुहारीको शैक्षिक योग्यताले महत्व पाउन थालेको छ,’ उनले थपे, ‘सामाजिक सञ्जालमा राखिएको उक्त तस्बिरले पनि समाजमा आएको परिवर्तन दर्शाएको छ।’ शिक्षामा पहुँच बढेसँगै मधेसका सहरदेखि गाउँसम्म छोरीलाई हेर्ने संकीर्ण सोचमा परिवर्तन हुँदै गएको किशोरको विश्लेषण छ।

१२/१४ वर्षमै छोरीको बिहे गरिदिने अनि केही वर्षभित्रै ‘गौना’ गरेर माइतीबाट बिदा गरिदने मधेसको समाज अहिले छोरीलाई शिक्षा दिएरसक्षम बनाउन तिर लम्किसकेको ठाकुरराम क्याम्पसका पूर्वप्रमुख ललन द्विवेदी बताउँछन्। ‘यो ठूलो परिवर्तन हो, समाजमा छोरीहरूलाई शिक्षा दिनुपर्छ, आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच झांगिँदै गएको छ।

छोरीहरूलाई देशभित्रकै सहर, भारत, बंगलादेश वा समुद्रपारिका देशमा शिक्षाका लागि पठाउन संकोच मान्ने अभिभावकहरू अहिले खुलेरशिक्षाको वकालत गर्न थालेका छन्। छोरीलाई पढाउन हुन्न भन्ने संकोच उनीहरूबाट हटेको छ,’ द्विवेदीले भने, ‘छोरा–छोरीलाई फरकफरक व्यवहार गर्ने सोच हटेको छ।’ उनका अनुसार बाबुआमाले सामथ्र्यअनुसार छोरीलाई पढाउन र विभिन्न पेसामा लाग्न प्रेरित गर्न थालेका छन्।

‘थप सुखद रआशालाग्दो पक्ष के हो भने छोरीहरू पनि आत्मनिर्भर बन्दैछन्,’ द्विवेदीले भने, ‘विपन्न परिवारले पनि छोरी पढेको रअत्मनिर्भरभएको हेर्न चाहिरहेको छ।’

असोज ५ गते मधेसका पाँच युवती बंगलादेशमा एमबिबिएस पढ्न गएका हुन्। ‘मेरा ३ छोरी छन्, अनि एउटा छोरा छ। माहिली छोरीलाई एमबिबिएस पढ्न बंगलादेश पठाएको हुँ।

पहिलो छोरीको बिएड पढेपछि बिहे भयो, अहिले जागिरनभए पनि भविष्यमा गर्न सक्छिन्,’ बंगलादेश पढ्न गएकी अन्नु साहका बाबु राजेश्वरले नागरिकसँग भने, ‘पढेकै कारण जोठी छोरीको ससुराल (घर) मा इज्जत छ। आर्थिक हैसियत कमजोरभए पनि छोरीलाई एमबिबिएस पढ्न बंगलादेश पठाउने आँट गरें। परिवारका अन्य सदस्यले पनि साथ दिए।’

राजेश्वर सामान्य किसान परिवारका हुन्। उनले अरूको डेढ बिघा लिजमा लिएर माछा पालन गरेका छन्। आम्दानीले नपुगे भएको जग्गा बेचेरै भए पनि खर्च जुटाउँछु भन्ने अठोटले छोरीलाई पढाएको उनले बताए।

अचल सम्पत्ति बेचेर दाइजो दिनुभन्दा छोरीलाई दिएको शिक्षा मूल्यवान हुन्छ भन्ने कुरामा पत्नीलाई सहमत गराउन अलि समय लागेको उनले बताए। उनले छोरीहरूलाई गुणस्तरीय उच्च शिक्षा दिलाउन चाहेका छन्। छोराले इन्जिनियरिङ पढ्ने तयारी गरेको र ‘प्लस टु’ मा अध्ययनरत कान्छी छोरीलाई पनि उच्चा शिक्षा पढ्न राम्रो अंक ल्याउनुपर्छ भनेर आफूले हौस्याएको उनले बताए।

मधेसमा शिक्षामा छोरीहरूको बढ्दो पहुँचको सकारात्मक प्रभाव निकट भविष्यमै समाजको विकासका रूपमा देखापर्ने पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन बताउँछिन्। उनी १३ वर्षअघि उनी उच्च शिक्षा (पत्रकारितामा स्नातकोत्तर) पढ्न बंगलादेश गएकी थिइन्।

सलमालाई बंगलादेश पढ्न पठाउँदा बाबु वकिल मियाले त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याएका थिए। ‘छोरीलाई पढ्न विदेश पठाएको भन्दै हाम्रो परिवारले गाउँ–समाजबाट निकै विरोध र निन्दाको सामना गर्नुपरेको थियो।

बुवाले मलाई एसएलसिपछि ठाकुरराम बहुमुखी क्याम्पसको महिला होस्टेलमा राखेका कारण पनि धेरैजना रुष्ट थिए,’ सलमाले विगत सम्झिँदै भनिन्, ‘म त झन् मुसिलम परिवारकी थिएँ। पहिले र अहिलेको मधेसलाई तुलना गर्दा छोरीलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा निकै परिवर्तन अएको छ।

अहिले मधेसका जुनुसुकै समुदायका अभिभावकले पनि छोरीलाई शिक्षित बनाउने सोच राखेका छन्।’ उनी बाहिर पढ्न जाँदा विरोध गरेकाहरूले पनि अहिले छोरीहरूलाई पढाउन थालेका छन्। समाजमा आएको यो परिवर्तनले आफूलाई खुशी लागेको उनी बताउँछिन्।

पढेलेखेका छोरीले विभिन्न अवसर पाउन थालेपछि सबै छोरीलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच समाजमा प्रबल बन्दै गएको महिला नेत्रृ मनिका सिंह बताउँछिन्।

अहिले मुख्य मधेस क्षेत्र भनिएको प्रदेश २ मा २०६८ सालको जनगणनाअनुसार साक्षरता दर ४९.५ प्रतिशत छ। जसमध्ये ६० प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन्। यो राष्ट्रि साक्षरता दरभन्दा कम हो। समग्र नेपालमा ६६ प्रतिशत जनता साक्षर छन्।

जसमध्ये ७५ प्रतिशत पुरुष र ५७ प्रतिशत महिला साक्षर छन्। १० वर्षअघिको तथ्यांक अनुसार यस प्रदेशमा पुरुष–महिलाबीचको साक्षरता दरमा भएको फरक करिब २२ प्रतिशत हो। अहिले यो तस्बिर निकै बदलिसकेको प्राध्यापक द्विवेदी बताउछन्। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.