अत्यन्त व्यस्तताका बाबजुद तत्कालिन सभामुख कृष्णबहादुर महराले हाम्रो आग्रहलाई स्वीकार गरी होटल मनाङमा आयोजित एक समारोहमा रिपोर्ट नेपाल डटकमको शुभारम्भ गरिदिनु भएको हिँजो जस्तै लाग्छ । समय वित्न धेरै दिन लाग्दो रहेनछ । आजैका दिन अर्थात गणतन्त्र दिवस २०७५ जेठ १५ को अवसर पारेर रिपोर्ट नेपाल डटकम शुभारम्भ भएको हो । आज देखि हामी पाँचौ वर्ष पुरा गरी छैठौ वर्ष प्रवेश गरेका छौं ।
नेपालको संविधान (२०७२) अन्तरगत स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न भई तीन वटै तहका सरकार मार्फत मुलुक अघि बढ्न थाले सँगै अली पृथक ढंगको मिडिया नेपालमा आवश्यक छ भन्ने बोधका साथ हामीले रिपोर्ट नेपाल डटकमको अवधारणा अघि सारेका हौं । हजारौं मिडियाहरुको भिडमा एउटा मिडिया थप्नु मात्रै हाम्रो उद्देश्य थिएन, र छैन पनि । ‘हरेक रिपोर्ट सत्यको पक्षमा’ भन्ने अवधारणालाई आफ्नो मूल ध्येय बनाएर रिपोर्ट नेपाल डट कम प्रस्तुत गरेका हौं । बरु ढिलो होस् तर असत्य र पूष्टि नभएका समाग्रीहरु पाठक समक्ष नपुगोस भन्ने हाम्रो मुख्य उद्देश्य हो । छिटो समाचार दिने प्रतिस्पर्धाका कारण झुठा र अपुष्ट समाचार प्रवाह भएकोले देश र जनताले ठूलो क्षति बेहोरिरहेको अवस्थालाई चिर्ने प्रयत्नका लागि हामी अघि सरेका हौं ।
समाचार, विचार, घटना–परिघटनाको प्रस्तुतिमा गर्नुपर्ने प्रतिष्पर्धा जति कठिन छ, सत्य, तथ्य र निष्पक्ष रूपमा सामग्री पस्किएर आमपाठकको हृदयमा आसन जमाउने कार्य अझै चुनौतीपूर्ण छ भन्ने महसुसका साथ हामी नेपाली पत्रकारिताको मैदानमा उत्रिएका हौं । यो पाँच वर्षको दौरानमा हामी छिटो समाचार दिने प्रतिस्पर्धामा पछि पर्यौं होला, तर गलत सूचना या सामग्री पस्किएर पाठक वर्गलाई भ्रममा पार्ने अपराधबाट हामी बँचेका छौं । गलत उद्देश्यका सामाग्री प्रवाह गर्ने कुरा हामी कल्पना गर्न पनि सक्दैनौँ । गलत समाचार सम्प्रेषण गर्नुभन्दा समाचार नै नदिनु उपयुक्त हो भन्ने हाम्रो मान्यता छ । त्यसैले सत्य र निश्पक्षतालाई हामीले आफ्नो गहना बनाउने प्रण गरेका छौँ । प्रतिष्पर्धाको नाममा अस्वस्थ दौड हाम्रो लक्ष्य कदापि हुन सक्दैन ।
कठिन परिस्थितिका बाबजुद हाम्रो यो पाँच वर्षको यात्रा सन्तोषजनक रहेको हामीले ठानेका छौं । मुलुकमा राजनीतिक स्थिरता आउनै लाग्दा कोरोनाको महामारीका कारण मलुकको सबै क्षेत्र करिव करिव तसह नहस भयो । यसको असर मिडिया जगतले बेहोर्नु स्वभाविकै हो । हामीलाई पनि नसोचेको आर्थिक संकट आइ लाग्यो । कोरोनाको महामारी मथ्थर हुँदै गर्दा रुस र युक्रेन वीचको युद्धले सारा विश्व प्रभावित भएको छ । बस्तु आयतमा निर्भर भएको हाम्रो अर्थतन्त्र यतिबेला चरम महंगीले आक्रान्त बनेको छ । महंगीका कारण जनताको खल्ती रित्तिएको छ, उद्योगी–व्यवसायीहरु ऋणमा चुर्लुम्म डुवेका छन् । बैंकहरु रित्तिएका छन् । राज्यको आम्दानीले साधरण खर्च धान्न सक्ने अवस्था छैन । यसको सिधा असर मिडियामा परेको छ । विशेष गरी अनलाईन मिडियाले आफ्नो खर्च चलाउने भनेकै विज्ञापनदाताहरुको सहयोगमा हो, तर विज्ञापन दाताहरुनै चरम आर्थिक संकटमा परेको अवस्था छ । त्यसैले आधा पेट खाएरै भए पनि आफ्नो दायित्वबाट अलग नहुने प्रण हामीले गरेका छौं ।
आर्थिक अवस्था जे जस्तो भए पनि राजनीतिक अवस्था सुधार हुँदै गएका कारण निराश हुनु पर्ने अवस्था छैन । राजनीति सुध्रियो भने अन्य कुराहरु विग्रन पाउँदैनन् । मुलुकको संघीय लोकतान्त्रिक परिपाटीले उत्साहजनक रुपमा गति लिइरहेको छ । संविधान र लोकतन्त्रको परिपालना एवम् प्रवद्र्धनमा यथासक्य योगदान पुर्याउँदै सामाजिक न्याय, कानुनी राज्य, अपराधमुक्त मुलुक, भ्रष्टाचाररहित राज्य जस्ता आदर्श स्थापनाको लागि ‘रिपोर्ट नेपाल’ हरदम क्रियाशील र छ । हाम्रो यस उद्देश्यमा साथ दिनु भएकोमा तमाम पाठकवर्ग, विज्ञापनदाता एवंम समाजका सबै तह–तप्का प्रति हामी आभारी छौं ।
कुनै पनि शासन व्यवस्था साध्य होइन, साधन मात्रै हो भन्ने यर्थाथता नयाँ पुस्तालाई अवगत गराउँदै अघि बढ्ने प्रण हामीले गरेका छौं । यसैगरी पद भनेको साध्य नभएर साधन मात्रै हो भन्ने यर्थाथता मुलुकको तीनै तहका राज्य संयन्त्रमा रहेको जनशक्तिलाई अवगत गराई रहने प्रण पनि हामीले गरेका छौं । मिडिया भनेको समाचार तथा विश्लेषण पस्कने माध्यम मात्रै नभएर खवरदारी गर्ने साधन समेत हो । हामी विसंगति तथा विकृति विरुद्ध निरन्तर खवरदारी गरिरहने छौं ।
नेपालमा गणतन्त्र त आयो, नागरिकले के खोजेका थिए ? भन्ने प्रश्न मुख्य हो । गणतन्त्रमा जनताका आधारभूत आवश्यकता पूरा गर्नेतर्फ राज्यसत्ता केन्द्रित हुनु पर्छ । सुशासन हुनु पर्यो । भ्रष्टाचारमुक्त समाज हुनु पर्यो । पारदर्शी र जनताप्रति जवाफदेही हुनु पर्यो । तर जनता निराश छन् । तर यो अवधीमा केही पनि भएन भन्ने चाँही होइन । गणतन्त्र स्थापना हुनुभन्दा अघिल्लो वर्ष नेपालभर सरकारी अस्पतालको संख्या १ सय २ वटा थियो । यतिबेला यो संख्या २ सय १ पुगेको छ । १५ वर्ष अघि चिकित्सक डाक्टरको संख्या सोही अवधिमा ७ हजार थियो, अहिले ३० हजार पुगेको छ । १५ वर्ष अघि नेपालीको सरदर आयु ६४ वर्ष थियो, अहिले ७२ वर्ष पुगको छ । १५ वर्ष अघि बाल मृत्युदर प्रतिहजारमा ४८ थियो, अहिले २८ मा झरेको छ । १५ वर्ष अघि साक्षरता दर ६१ प्रतिशत थियो, अहिले ७६ प्रतिशत पुगेको छ । सडक, पुल, भवन, जलविद्युत् योजना, विमानस्थल, सिँचाइ नहर, केवुलकार, सुरुङमार्गको निर्माण पनि अघि बढेका छन् । १५ वर्ष अघि प्रतिव्यक्ति आय ३७ हजार रुपैंया रहेकोमा अहिले १ लाख ३० हजार रुपैंया पुगेको छ । १५ वर्ष अघि गरिवीको २८ दशमलन ६ प्रतिशत जनसंख्या रहेकोमा अहिले यो प्रतिशत घटेर १७ दशमलव ४ मा झरेको छ । १५ वर्ष अघि नेपालमा पक्की सडक पाँच हजार ४०२ किलोमिटर थियो । अहिले करिव १७ हजार किलोमिटर पुगेको छ । १५ वर्ष अघि ५६ प्रतिशत घरमा विद्युत सेवा पुगेकोमा अहिले ९२ प्रतिशत घरमा विद्युत सेवा पुगेको छ । १५ वर्षको यो अवधीमा २ वटा अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । मध्यपहाडी लोकमार्ग र मदन भण्डारी लोकमार्ग निर्माण सम्पन्न हुने चरणमा छन् । मुलुक रेलमार्गको युगमा प्रवेश गर्न लागेको छ । तर विश्वका अरु देशहरुले यो १५ वर्षको अवधीमा जे जति फड्को मारे त्यसको तुलना गर्ने हो भने नेपालमा केही पनि भएको छैन भन्दा अत्युक्ती हुँदैन ।
अन्त्यमा १५ औं गणतन्त्र दिवस तथा रिपोर्ट नेपाल डटकमको छैठौं स्थापना दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त दाजुभाई तथा दिदी बहिनीहरु प्रति हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।
कृष्ण प्रसाद सापकोटा
निर्देशक
महेन्द्र पाण्डे
सम्पादक
१५ जेठ २०८०