काठमाडौं, पुस ७ः नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले छैटौंपटक प्रधानमन्त्री हुने बाटो तय गरेका छन् । गठबन्धन दलहरूलाई मिलाएर नयाँ सरकारको नेतृत्व गर्ने कसरतमा लागेका देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएसँगै आगामी प्रधानमन्त्रीको बाटो खुलेको हो ।
कांग्रेसको बुधबार भएको संसदीय दलको निर्वाचनमा सभापति देउवाले ६४ मत ल्याएका थिए भने उनीसँग प्रतिस्पर्धामा उत्रिएका महामन्त्री गगन थापाले २५ मत ल्याए ।
नवनिर्वाचित ८९ सांसदले मतदान गरेको उक्त निर्वाचनमा देउवाको पक्षमा ७२ प्रतिशत मत र थापाको पक्षमा २८ प्रतिशत खसेको छ । २०५१ सालमै तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सारेपछि उनले ४९ वर्षको उमेरमै देशको प्रधानमन्त्री बन्ने अवसर पाएका थिए। नेपाल समाचारपत्रबाट