सप्तरी, मंसिर ४ः सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सामुदायिक विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।
गाउँपालिकाका कर्मचारीको आन्दोलनप्रति समर्थन जनाउँदै शुक्रबारदेखि शिक्षकले पनि विद्यार्थीलाई पठाउन बन्द गरेका हुन् । शिक्षक आन्दोलित भएपछि विद्यालय बन्द भएका हुन् । विद्यालय बन्द हुँदा गाउँपालिका क्षेत्रका झण्डै पाँच हजार विद्यार्थीको पठनपाठन अनिश्चित भएको छ ।
सबै विद्यालयमा तुरुन्त पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने, विषयगत शाखा र उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्थामा आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग राखेर विगत केही दिनदेखि गाउँपालिकामा कार्यरत कर्मचारी आन्दोलित छन् ।
शुक्रबारदेखि शिक्षकहरु पनि आन्दोलित हुँदा पठनपाठन रोकिएको गाउँपालिकाका सूचना अधिकारी दीपक मेहताले बताए । गाउँ कार्यपालिकाले कर्मचारी र शिक्षकहरुको मागको सुनुवाई नगरेपछि आन्दोलित बन्नुपरेको उनीहरुले बताएका छन् ।